२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

इरानमा इजरायली आक्रमणपछि ‘कालो र अम्लीय’ वर्षाको वितण्डा

इरानमा इजरायली आक्रमणपछि ‘कालो र अम्लीय’ वर्षाको वितण्डा

तेहरान – इजरायल र अमेरिकाले इरानका तेल डिपोहरूमा गरेको श्रृंखलाबद्ध हवाई आक्रमणपछि इरानका विभिन्न भागमा ‘एसिड रेन’ (अम्लीय वर्षा) भइरहेको समाचार सार्वजनिक भएको छ। गत साताका ती शक्तिशाली आक्रमणका कारण तेल भण्डारहरूमा लागेको भीषण आगो र त्यसबाट निस्किएको बाक्लो कालो धुवाँले वायुमण्डल प्रदूषित बनेपछि यस्तो अवस्था आएको हो।

स्थानीय बासिन्दाका अनुसार आकाशबाट कालो र चिल्लो पदार्थ मिसिएको पानी परिरहेको छ। उक्त वर्षाको पानी भवन र सवारीसाधनहरूमा जमेर बसेको छ भने सर्वसाधारणले टाउको दुख्ने र श्वासप्रश्वासमा गम्भीर समस्या भएको गुनासो गरेका छन्।

किन भइरहेको छ कालो वर्षा?
विज्ञहरूका अनुसार तेल डिपोहरूमा भएको विस्फोट र आगलागीबाट ठुलो मात्रामा हाइड्रोकार्बन, सल्फरडाइअक्साइड र नाइट्रोजनडाइअक्साइड जस्ता विषाक्त ग्यासहरू वायुमण्डलमा फैलिएका छन्। यी ग्यासहरूले आकाशमा रासायनिक प्रतिक्रिया गरी सल्फ्युरिक र नाइट्रिक एसिड बनाउँछन्, जुन वर्षाको पानीसँगै जमिनमा झर्छ। यसैलाई वैज्ञानिक भाषामा ‘एसिड रेन’ भनिन्छ।

इरानको ‘रेड क्रिसेन्ट सोसाइटी’ ले यो वर्षा अत्यन्तै खतरनाक र घातक हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ। यसमा पाइने ‘पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन’ जस्ता रसायनले दीर्घकालमा क्यान्सरको जोखिम समेत बढाउने विज्ञहरूको ठहर छ।

स्वास्थ्यमा गम्भीर खतरा
आक्रमणपछि उत्पन्न भएको यो वातावरणीय संकटले इरानमा मानवीय जोखिम थपेको छ। प्रदूषित हावा र अम्लीय वर्षाका कारण छाला पोल्ने, आँखा चिलाउने र फोक्सोमा समस्या देखिने सम्भावना बढेको छ। अधिकारीहरूले नागरिकलाई घरबाहिर ननिस्कन र वर्षाको पानीको सम्पर्कबाट टाढै रहन आग्रह गरेका छन्।