ओमानमा इरानी ड्रोन आक्रमण: एक नेपाली घाइते
- २९ फाल्गुन २०८२
- १ मिनेटको पढाई
मस्कट । इरानले ओमानमा गरेको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिक घाइते भएका छन्। शुक्रबार ओमानको सोहर प्रान्तस्थित औद्योगिक क्षेत्रमा भएको उक्त विस्फोटमा नुवाकोट ककनीका एक युवक घाइते भएका हुन्।
ओमानस्थित नेपाली दूतावास स्रोतका अनुसार घाइते नेपालीको अवस्था सामान्य छ। उनी आफ्नो कोठामा बसिरहेका बेला इरानी ड्रोन खसेर विस्फोट हुँदा उछिट्टिएको छर्रा लागेर घाइते भएका थिए। उनलाई तत्काल स्थानीय अस्पताल भर्ना गरिएको थियो र शनिबारसम्ममा डिस्चार्ज गरिने तयारी छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ओमानको अल–अवाही औद्योगिक क्षेत्रमा ड्रोन खस्दा दुईजना विदेशी कामदारको मृत्यु समेत भएको छ। सोही घटनामा परी यी नेपाली युवा घाइते भएका हुन्।
मध्यपूर्वमा बढ्दै गएको तनावका कारण त्यहाँ रहेका नेपाली श्रमिकहरूमा त्रास फैलिएको छ। दूतावासले भने घाइतेको उपचार र सुरक्षाका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ।