२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

कुवेतमा भएको आक्रमणमा १०० भन्दा बढी अमेरिकी सैनिक घाइते भएको खुलासा

कुवेतमा भएको आक्रमणमा १०० भन्दा बढी अमेरिकी सैनिक घाइते भएको खुलासा

न्युयोर्क – इरान र अमेरिकाबीच जारी तनावका क्रममा कुवेतस्थित अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा परी १०० भन्दा बढी अमेरिकी सैनिक घाइते भएको नयाँ तथ्य बाहिर आएको छ। सुरुमा अमेरिकी रक्षा मन्त्रालयले थोरै संख्यामा मात्र हताहती भएको बताए पनि पछिल्लो रिपोर्टले आक्रमण निकै भीषण रहेको देखाएको हो।

गत मार्च १ मा कुवेतको सुएबा बन्दरगाह नजिकै रहेको सैन्य अपरेसन सेन्टरमा इरानी ‘कामिकाजे’ ड्रोनले आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी ६ जना अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि भइसकेको छ। अहिले सार्वजनिक विवरणअनुसार, घाइते हुने सैनिकहरूको संख्या १०० देखि १५० सम्म पुगेको छ।

घाइते भएकामध्ये धेरैलाई मस्तिष्कमा चोट (ट्रमा), शरीर जलेको र छर्रा लागेका गम्भीर घाउहरू छन्। गम्भीर घाइते भएका २० जनाभन्दा बढी सैनिकलाई थप उपचारका लागि जर्मनीको ल्याण्डस्टुलस्थित सैन्य अस्पतालमा एयरलिफ्ट गरिएको छ। केही सैनिकको अवस्था अझै चिन्ताजनक रहेको र उनीहरूको हातखुट्टा काट्नुपर्ने अवस्था समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पेन्टागनका प्रवक्ता सिन पार्नेलले युद्ध सुरु भएदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा गरी कुल १४० जना अमेरिकी सैनिक घाइते भएको र तीमध्ये धेरैजसो उपचारपछि काममा फर्किसकेको बताएका छन्। यद्यपि, कुवेतको यो आक्रमणले अमेरिकी सैन्य सुरक्षा प्रणालीमाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।