खाडीको तनावपछि हिमालय एअरलाइन्सले दुबईबाट नेपालीको उद्धार थाल्यो
- २९ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं – खाडी क्षेत्रमा जारी तनावका कारण समस्यामा परेका नेपालीहरूको उद्धारका लागि हिमालय एअरलाइन्सले दुबईबाट विशेष उडान सुरु गरेको छ। गत ८ मार्च २०२६ देखि एअरलाइन्सले दुबईमा अड्किएका नेपालीहरूलाई स्वदेश फर्काउन सहजीकरण गरिरहेको हो।
नियमित उडानहरूमा अवरोध आएपछि यात्रा गर्न नपाएका नेपालीहरूलाई सुरक्षित रूपमा घर फर्काउन एअरलाइन्सले नेपाल सरकार र सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ। ८ मार्चमा काठमाडौं–दुबई रुटमा पहिलो विशेष उडान भरेको हिमालयले हालसम्म पाँचवटा उडानमार्फत ७६५ जना नेपालीलाई स्वदेश ल्याइसकेको छ।
चुनौतीपूर्ण परिस्थितिमा आफ्ना नागरिकलाई सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै एअरलाइन्सले अहिले यस रुटमा दैनिक एउटा नियमित उडान समेत सञ्चालन गरिरहेको छ। विमानस्थल प्राधिकरण र कूटनीतिक नियोगहरूसँगको सहकार्यमा नेपालीहरूको यात्रालाई सुरक्षित बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
मध्यपूर्वमा बढ्दै गएको सुरक्षा संवेदनशीलताका कारण धेरै नेपालीहरू स्वदेश फर्किन चाहेका छन्। उनीहरूलाई प्राथमिकतामा राखेर थप उडानहरूको व्यवस्था मिलाउन एअरलाइन्सले तयारी गरिरहेको छ।