२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

एनआरएनएको एकता महाधिवेशन शनिबार देखि काठमाडौंमा सुरु हुँदै

एनआरएनएको एकता महाधिवेशन शनिबार देखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलन तथा एकता महाधिवेशन आज (शनिबार) देखि काठमाडौंमा सुरु हुँदैछ। ‘हाम्रो एकता समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष बद्री केसीले फागुन ३० देखि चैत २ गतेसम्म चल्ने यो सम्मेलनले संस्थालाई नयाँ जीवन दिने विश्वास व्यक्त गरे। सम्मेलनको उद्घाटन शनिबार हुनेछ भने नयाँ नेतृत्व चयनका लागि शनिबार बेलुकादेखि नै मतदान प्रक्रिया सुरु हुनेछ।

यसपटकको निर्वाचनमा विश्वभरका ४ हजार २८६ प्रतिनिधिहरूले भौतिक र अनलाइन दुवै माध्यमबाट सहभागी हुन पाउनेछन्। अध्यक्ष र महासचिव लगायतका मुख्य पदहरूमा सहमति जुटाउन अधिकतम प्रयास भइरहेको अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले बताए। “यो सम्मेलनपछि संघमा वर्षौँदेखि देखिएको विवाद अन्त्य हुने र हामी हाम्रो मुख्य उद्देश्यमा केन्द्रित हुनेछौँ,” उनले भने।

सम्मेलनका क्रममा गैरआवासीय नेपाली ऐन, नागरिकताको अधिकार, लगानी तथा संविधानले दिएका आर्थिक र सामाजिक अधिकारका विषयमा विभिन्न सत्रहरूमा छलफल हुनेछ। कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि र विश्वभरका एनआरएनए सदस्यहरूको ठूलो उपस्थिति रहनेछ।