अमेरिकामा सोमालियाका आप्रवासीको ‘टिपीएस’ खारेज गर्ने निर्णयमा अदालतद्वारा रोक
- ३० फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको म्यासाचुसेट्सस्थित एक अदालतले सोमालियाका आप्रवासीहरूको अस्थायी संरक्षित स्थिति (टिपीएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयलाई तत्कालका लागि रोकिदिएको छ।
अमेरिकी जिल्ला न्यायाधीश एलिसन डी. बरोजले यो सुविधा खारेज गरिएमा गम्भीर परिणामहरू आउन सक्ने भन्दै यस्तो फैसला गरेकी हुन्। ट्रम्प प्रशासनले गत महिना मिनियापोलिसमा आप्रवासीमाथि कडाइ गर्दै टिपीएस खारेज गर्ने घोषणा गरेपछि अधिकारकर्मीहरूले अदालतमा आपत्कालीन निवेदन दर्ता गराएका थिए।
अदालतको आदेशमा टिपीएस खारेज हुँदा एक हजारभन्दा बढी मानिसले हिरासत, देश निकाला, सोमालिया फर्किँदा भौतिक हिंसा र परिवारसँग बिछोडिनुपर्ने जस्ता गम्भीर जोखिमको सामना गर्नुपर्ने उल्लेख छ। यो अस्थायी रोक लागू रहुन्जेल सोमालियाली आप्रवासीहरूले अमेरिकामा काम गर्न पाउने र देश निकालाबाट बच्ने अधिकार पाइरहनेछन्।
अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयले भने यो फैसलाप्रति असन्तुष्टि जनाएको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले नियुक्त गरेकी न्यायाधीशको यो फैसलाले अमेरिकी अध्यागमन प्रणाली सुधार्ने प्रयासलाई रोकेको मन्त्रालयले बताएको छ। मन्त्रालयले सोमालियाको अवस्था सुधार भइसकेको दाबी गर्दै अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने नीतिअनुसार यो निर्णय गरिएको प्रस्ट्याएको छ।
यसैबीच, आप्रवासीको पक्षमा लडिरहेका प्रतिनिधिहरूले थुप्रै कानुनी लडाइँ बाँकी रहे पनि अदालतको यो अस्थायी आदेशले सोमालियाली आप्रवासीलाई राहत दिएको भन्दै खुसी व्यक्त गरेका छन्।