३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

मारानाको पुरानो जेल अध्यागमन हिरासत केन्द्र बन्दै, क्षमताभन्दा बढी मानिस राख्ने योजनाको विरोध

मारानाको पुरानो जेल अध्यागमन हिरासत केन्द्र बन्दै, क्षमताभन्दा बढी मानिस राख्ने योजनाको विरोध

न्युयोर्क- अमेरिकाको मारानास्थित एउटा पुरानो जेललाई अध्यागमन हिरासत केन्द्र बनाइने भएको छ। सरकारी कागजातअनुसार यसको क्षमता ५१३ जनाको मात्र भए पनि संघीय सरकारले यहाँ ७७५ जनालाई राख्ने तयारी गरेको छ।

क्षमताभन्दा धेरै मानिस राख्ने सरकारी योजनाको स्थानीय अधिकारकर्मीहरूले विरोध गरेका छन्। अध्यागमन वकिल ड्यानिएला उगाजले यति धेरै संख्यामा मानिस थप्नु नैतिक रूपमा गलत भएको बताइन्। क्षमताभन्दा बढी मानिस राख्दा हिरासतमा दुर्व्यवहार हुने, उपचार नपाएर मृत्यु हुने जोखिम बढ्ने र सुरक्षा चुनौती थपिने उनको भनाइ छ।

यो भवन ‘म्यानेजमेन्ट एन्ड ट्रेनिङ कर्पोरेसन’ (एमटिसी) नामक निजी कम्पनीको स्वामित्वमा छ। एमटिसीले सन् २०२५ मा राज्य सरकारबाट यो जेल किनेको थियो। त्यसअघि सन् २०२३ सम्म कम्पनीले नै यहाँ जेल सञ्चालन गरेको थियो। संघीय सरकारले आगामी दुई वर्षका लागि यो हिरासत केन्द्र सञ्चालन गर्न एमटिसीलाई नै जिम्मा दिने सम्भावना छ।

एमटिसीले सम्झौता भएमा स्थानीयलाई रोजगारी दिने, अर्थतन्त्रमा सहयोग पुर्‍याउने र उच्च सुरक्षा मापदण्ड अपनाएर केन्द्र सञ्चालन गर्ने बताएको छ। माराना सहरका सञ्चार प्रबन्धक भिक ह्याथवेले यो सम्झौतामा सहरको प्रत्यक्ष संलग्नता नभए पनि एमटिसीसँग पहिलेदेखि नै राम्रो सम्बन्ध रहेको बताए। यो ठाउँ पहिले नै जेलको रूपमा दर्ता भएकाले यसको बिक्रीका लागि स्थानीय स्वीकृति आवश्यक नपरेको अधिकारीहरूले बताएका छन्।

अमेरिकी कंग्रेसले यसै वर्ष अध्यागमन हिरासत केन्द्रहरूका लागि ४५ अर्ब डलर बजेट स्वीकृत गरेको छ। सरकारले अध्यागमन नियममा कडाइ गर्न हिरासतको क्षमता बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।

तर, सन् २०२५ मा अध्यागमन हिरासतमा मृत्यु हुनेको संख्या सन् २००४ यताकै उच्च पुगेको छ। क्षमता बढाउने सरकारी योजनाले हिरासतमा रहेकाहरूको स्वास्थ्य उपचार, मानसिक स्वास्थ्य र कानुनी सहायता जस्ता आधारभूत अधिकारमा गम्भीर असर पर्ने भन्दै ‘एसिएलयु’ लगायतका अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।