३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

टेक्सास अध्यागमन केन्द्र गोलीकाण्ड: ‘एन्टिफा’ सँग जोडिएका ८ जना आतंकवादको आरोपमा दोषी ठहर

टेक्सास अध्यागमन केन्द्र गोलीकाण्ड: ‘एन्टिफा’ सँग जोडिएका ८ जना आतंकवादको आरोपमा दोषी ठहर

न्युयोर्क- अमेरिकाको टेक्सासमा रहेको एक अध्यागमन केन्द्रबाहिर भएको गोलीकाण्डमा संलग्न आठ जनालाई संघीय अदालतको जुरीले आतंकवादको आरोपमा दोषी ठहर गरेको छ। सरकारी वकिलहरूले उनीहरूलाई वामपन्थी समूह ‘एन्टिफा’ सँग आबद्ध रहेको बताएका छन्। पछिल्लो समय ट्रम्प प्रशासनले यो समूहलाई निसानामा राख्दै आएको छ।

फोर्ट वर्थबाहिर रहेको प्रेयरील्यान्ड हिरासत केन्द्र अगाडि गत वर्ष भएको प्रदर्शनका क्रममा प्रहरी अधिकारीमाथि गोली चलाएको आरोपमा एक जनालाई ज्यान मार्ने उद्योगमा पनि दोषी ठहर गरिएको छ। न्याय मन्त्रालयले यसलाई ‘एन्टिफा’ कार्यकर्ताको योजनाबद्ध आक्रमण भनेको छ। तर, आरोपितका वकिलहरूले भने उनीहरूको उक्त समूहसँग कुनै सम्बन्ध नभएको र त्यो केवल आतसबाजीसहितको सामान्य प्रदर्शन भएको दाबी गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त जिल्ला न्यायाधीश मार्क पिटम्यानले करिब तीन सातासम्म चलेको यो मुद्दाको सुनुवाइ गरेका थिए। एफबिआईका निर्देशक काश पटेलले कथित ‘एन्टिफा’ सदस्यहरूमाथि आतंकवादीलाई सहयोग गरेको आरोप लगाइएको यो पहिलो घटना भएको बताए। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले ट्रम्प प्रशासनले ‘एन्टिफा’लाई पूर्ण रूपमा निस्तेज पार्ने बताउँदै यो फैसला सुरुवात मात्र भएको चेतावनी दिइन्।

जम्मा नौ जनामाथि मुद्दा चलाइएकोमा आठ जनालाई आतंकवादीलाई सहयोग गरेको आरोप लगाइएको थियो। नवौँ व्यक्ति ड्यानियल सान्चेज एस्ट्राडालाई भने कागजात लुकाएको र षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरिएको छ। उनका वकिल क्रिस्टोफर वेनबेलले यो फैसलाप्रति असन्तुष्टि जनाउँदै यसबाट न्यायको हार भएको बताए। यता, सरकारी वकिल सन स्मिथले भने प्रदर्शनकारीले हतियार, प्राथमिक उपचारका सामग्री र बुलेटप्रुफ ज्याकेट ल्याउनुले उनीहरूको गलत मनसाय प्रस्ट हुने तर्क गरे।

ट्रम्पले ‘एन्टिफा’लाई आन्तरिक आतंकवादी संगठन घोषणा गर्ने आदेश दिएपछि यो मुद्दा अघि बढेको हो। तर, आलोचक तथा कानुनविद्हरूले भने सरकारको यो कदमले नागरिकको विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र मानिसहरूलाई तर्साएर प्रदर्शनबाट टाढा राख्ने प्रयास गरेको बताएका छन्।

अदालतमा दिइएको बयानअनुसार पूर्वअमेरिकी सैनिक बेन्जामिन सङले गोली चलाउँदा त्यहाँ भर्खरै आइपुगेका प्रहरी अधिकारी थोमस ग्रोस घाइते भएका थिए। ग्रोसको काँध र घाँटीमा गोली लागेको थियो। सङका वकिलले भने प्रहरीले आक्रामक रूपमा हतियार निकालेपछि सङले बचाउका लागि मात्र गोली चलाएको दाबी गरेका छन्।

यसअघि नै ‘एन्टिफा’लाई समर्थन गरेको र आतंकवादीलाई सहयोग गरेको आरोपमा केही व्यक्तिले आफ्नो गल्ती स्वीकार गरिसकेका छन्। उनीहरूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ।