इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, ६ वायुसेना अधिकारीको मृत्यु
- ०१ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- पश्चिमी इराकमा अमेरिकी वायुसेनाको विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ। पेन्टागनका अनुसार, आकाशमै इन्धन भर्न प्रयोग हुने ‘केसी-१३५’ विमान बिहीबार दुर्घटनामा परेको हो।
यो दुर्घटना इरानसँग चलिरहेको ‘अपरेसन एपिक फ्युरी’ युद्धको क्रममा भएको हो। योसँगै यस युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ। अमेरिकी सेनाले यो दुर्घटना कुनै शत्रु वा आफ्नै सेनाको आक्रमणबाट नभएको बताएको छ। घटनाको अनुसन्धान भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा मेजर जोन ए. क्लिनर, क्याप्टेन एरियाना जी. साभिनो, टेक सार्जेन्ट एस्ले बी. प्रुइट, क्याप्टेन सेठ आर. कोभल, क्याप्टेन कर्टिस जे. एंग्स्ट र टेक सार्जेन्ट टायलर एच. सिमन्स छन्। उनीहरू २८ देखि ३८ वर्ष उमेर समूहका थिए।
आकाशमै अर्को विमानमा इन्धन भर्ने जोखिमपूर्ण काममा खटिने यी सैनिकहरूको मृत्युमा विभिन्न राज्यका गभर्नर, मेयर, सैन्य अधिकारी र परिवारका सदस्यले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूलाई देशको रक्षाका लागि आफ्नो ज्यान जोखिममा पार्ने साहसी योद्धाका रूपमा सम्मान गरिएको छ।