२ चैत्र २०८२, सोमवार
16 March 2026, Monday

युद्धको भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

युद्धको भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं- पश्चिम एसियामा भइरहेको युद्धको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षालाई बेवास्ता गर्दै टिकटक र फेसबुक जस्ता सञ्जालमा यस्ता सामग्री नहाल्न कडा चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले युद्ध र सुरक्षासँग जोडिएका फोटो तथा भिडियो बनाउन र सेयर गर्न त्यहाँको सरकारले पूर्ण रूपमा रोक लगाएको बताए। उनका अनुसार अरूले बनाएका यस्ता सामग्री सेयर गर्नु पनि त्यहाँ गैरकानुनी मानिन्छ।

पक्राउ परेकाहरूलाई त्यहाँको कानुनअनुसार ठूलो रकम जरिबाना हुने, लामो समय जेल बस्नुपर्ने र सजाय काटेपछि देश निकाला समेत हुनसक्ने मन्त्रालयले जनाएको छ। त्रास फैलाउने सामग्री नबनाउन त्यहाँका सुरक्षा निकायले सूचना जारी गर्दा पनि नेपालीहरू यस्तै काम गरेर पक्राउ परेका हुन्।

दूतावास र सञ्चारमाध्यमबाट पटकपटक सचेत गराउँदा पनि यस्ता घटना हुनु दुःखद भएको मन्त्रालयले बताएको छ। मन्त्रालयले त्यहाँ रहेका सबै नेपाली श्रमिकलाई गैरकानुनी काममा संलग्न नहुन अपिल गरेको छ।