नेपाल हुँदै युरोप छिर्न खोज्ने इरानी पक्राउ, इरानीलाई ‘अनअराइभल भिसा’ बन्द
- ०३ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नेपाललाई ट्रान्जिट बनाएर युरोप छिर्न खोज्ने चार जना इरानी नागरिक नक्कली राहदानी र भिसासहित पक्राउ परेका छन्। उनीहरूले फरक–फरक मितिमा पर्यटक भिसामा नेपाल आएर बेलायत र बुल्गेरिया जस्ता युरोपेली देशको नक्कली राहदानी प्रयोग गरी युरोप जाने प्रयास गरेका थिए।
मंसिर १८ मा भारत हुँदै नेदरल्यान्ड्स जान लागेका मोसाइब कियामार्सी, पुस २ मा बेलायत जान लागेकी लीला रोस्तामिबेल्मिरी र पुस १२ मा इटाली जान लागेका अविन महमूदी मेहर तथा साबा सबौरी कोरुयेह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा उनीहरूले आफ्नो देशको द्वन्द्व, खस्किँदो अर्थतन्त्र र स्वतन्त्रताको अभावका कारण एजेन्टलाई पैसा तिरेर युरोप जान खोजेको बताएका छन्। यी घटनाहरूमा प्रयोग गरिएको तरिका एउटै देखिएकाले अन्तर्राष्ट्रिय मानव तस्करको ठूलो गिरोहले नेपाललाई ट्रान्जिट बनाएको हुन सक्ने सुरक्षा अधिकारीको आशंका छ। पक्राउ परेका चारै जनालाई नेपालले निष्कासन गरिसकेको छ।
यसैबीच, गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इरानी नागरिकलाई दिइँदै आएको ‘अनअराइभल भिसा’ (आगमन प्रवेशज्ञा) बन्द गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अब इरानी नागरिकले नेपाल आउनुअघि नै नेपाली दूतावासबाट भिसा लिनुपर्नेछ।