इरान युद्धको विरोध गर्दै अमेरिकी प्रतिआतंकवाद केन्द्रका प्रमुख जो केन्टको राजीनामा
- ०३ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको राष्ट्रिय प्रतिआतंकवाद केन्द्रका निर्देशक जो केन्टले इरानसँगको युद्धको विरोध गर्दै मंगलबार पदबाट राजीनामा दिएका छन्। अतिवादी दक्षिणपन्थी नेता तथा डोनाल्ड ट्रम्पका समर्थक मानिने केन्टले आफ्नो अन्तर्आत्माले यो युद्धलाई समर्थन गर्न नसक्ने बताए।
सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको राजीनामा पत्रमा उनले इरानबाट अमेरिकालाई कुनै तत्काल खतरा नभएको दाबी गरेका छन्। इजरायल र अमेरिकामा रहेको शक्तिशाली इजरायली समूह (लबी) को दबाबमा परेर यो युद्ध सुरु गरिएको उनको भनाइ छ।
राष्ट्रिय खुफिया निर्देशक तुलसी गबार्डअन्तर्गत काम गरेका केन्ट लामो सैन्य अनुभव भएका पूर्व विशेष अधिकारी हुन्। सन् २०१९ मा सिरियामा भएको आत्मघाती बम आक्रमणमा उनले आफ्नी पत्नी श्यानन केन्टलाई गुमाएका थिए।
केन्टले ट्रम्पको अघिल्लो कार्यकालको नीतिहरूको तारिफ गरेका छन्। तर, अहिले उच्च इजरायली अधिकारी र अमेरिकी सञ्चारमाध्यमले गलत सूचना फैलाएर ट्रम्पलाई फसाएको आरोप उनले लगाए। इजरायलले इराक युद्धमा पनि यस्तै झूटो रणनीति अपनाएर हजारौँ अमेरिकीको ज्यान लिएको भन्दै उनले अमेरिकाले फेरि त्यही गल्ती दोहोर्याउन नहुने चेतावनी दिए।
पत्नीको मृत्युपछि केन्टले सन् २०२२ र २०२४ मा वासिङ्टनबाट कंग्रेसको चुनाव लडे पनि दुवै पटक उनी हारेका थिए। उनी उग्र दक्षिणपन्थी समूहहरूसँग जोडिएको र सन् २०२० को चुनाव जो बाइडेनले चोरेको जस्ता आधारहीन सिद्धान्तहरूलाई समर्थन गर्ने व्यक्तिका रूपमा पनि चिनिन्छन्।