इजरायलद्वारा इरानका तेस्रो उच्च अधिकारीको हत्या, इरानको बदलाले खाडीमा तनाव
- ०४ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- इजरायलले लगातार दुई दिनभित्र इरानका तेस्रो शीर्ष अधिकारीको हत्या गरेको छ। इजरायली रक्षामन्त्रीका अनुसार पछिल्लो हवाई आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएका छन्। यसअघि इजरायलले इरानका शीर्ष सुरक्षा अधिकारी अली लारीजानी र रिभोलुसनरी गार्डका कमान्डरको हत्या गरेको थियो।
आफ्ना नेताहरूको हत्याको बदला लिन इरानले इजरायलमाथि शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ। तेल अभिभ नजिकै भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ। साथै, अमेरिकालाई दबाब दिन र इन्धनको मूल्य बढाउन इरानले साउदी अरब, यूएई, कुवेत, बहराइन र कतारका तेल तथा ग्यास केन्द्रहरूमा पनि आक्रमण तीव्र पारेको छ।
यसैबीच, इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धमा हालसम्म इरानमा १३ सयभन्दा बढी, लेबनानमा ९१२, इजरायलमा १४ र अमेरिकाका १३ सैनिक मारिएका छन्। मध्यपूर्वको यो तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ।