मध्यपूर्वमा रहेका ८२ हजार नेपालीको विवरण दर्ता, सुरक्षा अवस्था सामान्य बन्दै
- ०६ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं – परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली नागरिकको विवरण संकलन कार्यलाई तीव्रता दिएको छ। कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा हालसम्म ८२ हजार १ सय जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले यसबारे जानकारी दिए। उनका अनुसार सुरुका दिनमा करिब ६ हजार जनाले आफूहरू असुरक्षित रहेको बताए पनि अहिले त्यो संख्या निकै घटेको छ। इजरायल, इरान र अमेरिकाबीचको तनावका कारण मन्त्रालयले स्थापना गरेको आपतकालीन कक्षमा हालसम्म १७० पटक सम्पर्क भएको उनले बताए।
अहिले अवस्था सामान्य बन्दै गएकाले धेरैजसोले सुरक्षाभन्दा पनि श्रम स्वीकृतिको विषयमा सोधखोज गर्ने गरेको प्रवक्ता क्षेत्रीको भनाइ छ। मन्त्रालयले आफ्ना १० वटा नियोगमार्फत नेपालीहरूको अवस्थाबारे निरन्तर समन्वय गरिरहेको छ।
यस्तै, हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्री पनि स्वदेश फर्किसकेको मन्त्रालयले जनाएको छ। सरकार नेपालीको सुरक्षामा गम्भीर रहेको र आवश्यक परेको खण्डमा उद्धारका लागि समेत तयार रहेको उनले बताए।