६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

पश्चिम एसियामा बहुराष्ट्रिय कम्पनीहरूमाथि आक्रमण, नेपाली श्रमिकहरू जोखिममा

पश्चिम एसियामा बहुराष्ट्रिय कम्पनीहरूमाथि आक्रमण, नेपाली श्रमिकहरू जोखिममा

न्युयोर्क – इरानले पश्चिम एसियामा रहेका अमेरिकी तथा बहुराष्ट्रिय कम्पनीहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेपछि त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा जोखिम बढेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, कुवेत र ओमान जस्ता देशमा रहेका यस्ता कम्पनीहरू इरानको निशानामा परेको जानकारी दिइएको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार हाल विमानस्थल, समुद्री बन्दरगाह, ऊर्जा केन्द्र, ग्यास प्लान्ट र अमेरिकी लगानी रहेका प्रविधि कम्पनीहरूमाथि आक्रमण भइरहेका छन्। ती क्षेत्रमा ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेकाले उनीहरूको सुरक्षाप्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। विशेषगरी साउदी अरेबियाको पूर्वी र दक्षिणपूर्वी क्षेत्रका ऊर्जा प्लान्टहरूमा भएको आक्रमणका बीच त्यहाँ रहेका करिब ३ सय नेपाली हाल सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

गत फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानले प्रतिशोधस्वरुप पश्चिम एसियामा रहेका अमेरिकी सैन्य बेस र बहुराष्ट्रिय कम्पनीहरूलाई निशाना बनाउन थालेको हो। पश्चिम एसियाका विभिन्न देशमा हाल १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन्। मन्त्रालयले त्यहाँस्थित आफ्ना १० वटा नियोगमार्फत नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।