१३ असार २०८३, शनिबार
27 June 2026, Saturday

अफ्रिकामा बढ्दो साइबर चुनौतीः एआई सरोकारवालाबीच सहकार्यमा जोड

अफ्रिकामा बढ्दो साइबर चुनौतीः एआई सरोकारवालाबीच सहकार्यमा जोड

न्युयोर्क- अफ्रिकामा बढ्दै गएको साइबर सुरक्षा चुनौतीको सामना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रका सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा संयुक्त राष्ट्र संघ र इथियोपियाका विज्ञहरूले जोड दिएका छन्।

इथियोपियाको राजधानी अदिस अबाबामा बुधबार भएको साइबर सुरक्षा र एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा संयुक्त राष्ट्र संघीय आर्थिक आयोग (ईसीए) की उप–कार्यकारी सचिव मामा केइटाले यस्तो बताएकी हुन्। उनले अफ्रिकामा साइबर खतरा पहिचान र डाटा विश्लेषणका लागि नयाँ एआई समाधान भित्र्याउन आवश्यक रहेको बताइन्।

साइबर अपराधीले आक्रमण गर्न र गलत सूचना फैलाउन एआईको दुरुपयोग गरिरहेको भन्दै उनले सुरक्षित डिजिटल अफ्रिका बनाउन सबै पक्षले साझा कदम चाल्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा इथियोपियाको सूचना नेटवर्क सुरक्षा प्रशासनकी महानिर्देशक टिगिस्ट हमिदले डिजिटल रूपान्तरण र एआईले अवसरसँगै जटिल चुनौती पनि ल्याएको बताइन्। हमिदका अनुसार इथियोपियाले पछिल्लो दुई दशकमा सुरक्षित डिजिटल प्रणाली निर्माण र व्यवस्थित साइबर रक्षा संयन्त्र स्थापनामा राम्रो प्रगति गरेको छ।

इथियोपियाली साइबर सुरक्षा संघ र ईसीएले आयोजना गरेको दुई दिने यो सम्मेलनले साइबर सुरक्षा बलियो बनाउने र अफ्रिकाको विकासका लागि प्रविधिको सही उपयोग गर्ने लक्ष्य राखेको छ।