५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

प्रविधिको सहारामा अन्तर्राष्ट्रिय अपराध बढ्दै: राष्ट्रसंघ

प्रविधिको सहारामा अन्तर्राष्ट्रिय अपराध बढ्दै: राष्ट्रसंघ

न्युयोर्क- दक्षिणपूर्वी एसियाका आपराधिक समूहले प्रविधिको प्रयोग गरेर संसारभर आफ्नो सञ्जाल बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालयको प्रतिवेदनअनुसार सन् २०२५ मा अनलाइन ठगीबाट मात्रै विश्वभर करिब ८८ अर्बदेखि १ खर्ब १४ अर्ब डलरसम्म नोक्सान हुने अनुमान छ।

अपराधीले कृत्रिम बुद्धिमत्ता (एआई), क्रिप्टोकरेन्सी र गोप्य सञ्चार माध्यमको प्रयोग गरेर ठगी र कालो धनलाई सेतो बनाउने काम गरिरहेका छन्। उनीहरू लागुऔषध, मानव बेचबिखन र वन्यजन्तु तस्करीमा समेत संलग्न छन्।

प्रतिवेदनले एआई र अनलाइन माध्यमको दुरुपयोगले बालबालिका धेरै जोखिममा परेको देखाएको छ। अनुसन्धानकर्ता इन्सिक सिमले एआईबाट बनाइएका बाल यौन दुर्व्यवहारका सामग्री गोप्य सञ्चार माध्यमबाट फैलिने गरेको बताए।

यस क्षेत्रमा लागुऔषध कारोबारको वार्षिक मूल्य १०९ अर्ब डलरसम्म पुग्ने अनुमान छ। इन्डोनेसिया, मलेसिया र फिलिपिन्सबीचको समुद्री क्षेत्र लागुऔषध र हतियार ओसारपसारको मुख्य बाटो बनेको छ।

म्यानमार, लाओस र कम्बोडियामा ठूला ठगी केन्द्रमाथि कारबाही भए पनि अपराधीले आफ्नो अखडा सारेका छन्। विश्लेषक सेओङजे शिनले यस्ता केन्द्र बन्द नभएको र अहिले निजी घरहरूमा सरेर भूमिगत रूपमा चलिरहेको बताए।

अपराध नियन्त्रण गर्न देशहरूबीच सूचना आदानप्रदान, सीमापार सहकार्य र कडा निगरानी आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।