बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
- १५ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- बालबालिकालाई केही ढिला मात्र सामाजिक सञ्जाल चलाउन दिँदा उनीहरूको मानसिक स्वास्थ्य राम्रो हुने एउटा अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार सानै उमेरमा सामाजिक सञ्जाल चलाउने किशोरकिशोरीमा चिन्ता र निराशा धेरै देखिन्छ।
१६ वर्षभन्दा मुनिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउनुअघि अस्ट्रेलियामा यो अध्ययन गरिएको थियो। अध्ययनमा १० देखि १५ वर्षका बालबालिका र उनीहरूका अभिभावक सहभागी थिए। सहभागीमध्ये ७० प्रतिशतले सामाजिक सञ्जाल चलाएको बताए भने झन्डै आधासँग आफ्नै खाता थियो। उनीहरूले औसत ११ वर्षको उमेरदेखि नै यसको प्रयोग गर्न थालेको पाइएको छ।
अनुसन्धानकर्ता सुजेन स्वाइजरले सामाजिक सञ्जालमा खाता हुनुभन्दा पनि कुन उमेरदेखि चलाउन थालियो भन्ने कुरा मुख्य रहेको बताइन्। नियमले प्रतिबन्ध लगाएपछि २५ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने बताएका छन्। ३४ प्रतिशतले खाता नखोली चलाउने र ३५ प्रतिशतले लुकेर भए पनि चलाउने उपाय खोज्ने बताए।
बालबालिकालाई सामाजिक सञ्जालमा ढिलो प्रवेश गराउनु मानसिक स्वास्थ्यका लागि राम्रो उपाय भएको अनुसन्धानकर्ताले बताएका छन्। यसका साथै उनीहरूलाई सुरक्षित रूपमा इन्टरनेट चलाउन सिकाउनु पनि उत्तिकै जरुरी रहेको अध्ययनको निष्कर्ष छ।