ट्रम्पको चेतावनीबीच इरानद्वारा अमेरिकी सैन्य अखडामा आक्रमण
- १८ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बाबजुद इरानले कुवेतमा रहेका अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। छ महिनादेखि चलिरहेको युद्धमा पछिल्लो समय अमेरिकाले गरेको बमबारीको बदलामा इरानले यो कदम चालेको हो।
केही दिनअघि अमेरिकाले इरानका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा १९ इरानी मारिएका थिए। इरानको कुहेस्तकस्थित एउटा विवाह समारोहमा भएको क्षेप्यास्त्र आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएपछि इरान थप आक्रोशित बनेको छ। त्यसको बदलामा इरानले कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन, जोर्डन र इराकमा रहेका अमेरिकी आधार शिविरहरूलाई निशाना बनाएको छ। इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकालाई चेतावनी दिँदै युद्धमा इरानले नयाँ रणनीति अपनाएको बताएका छन्।
कुवेतले इरानी आक्रमणलाई आफ्नो सुरक्षामाथिको खतरा र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै विरोध जनाएको छ। अर्कोतर्फ अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी झन् कडा पार्ने नीति लिएको छ। ट्रम्पले इरानले छ महिनादेखि बन्द गराएको महत्वपूर्ण हर्मुज जलमार्गको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने बताएका छन्। इरानी वार्ताकार मोहम्मद बाघेर गालिबाफले सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै अमेरिकाको कडा आलोचना गरेका छन्।
गत फेब्रुअरीमा अमेरिकी र इजरायली आक्रमणमा इरानी सर्वोच्च नेता आयतोल्ला अली खामेनी मारिएपछि यो युद्ध सुरु भएको थियो। यसैबीच, इजरायलका रक्षामन्त्रीले नजिकिँदै गरेको चाडपर्वको समयमा आफूहरूमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएका छन्।