दुबई विमानस्थल नजिकै ड्रोन आक्रमण, ७ घण्टापछि उडान सुचारु
- ०२ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- सोमबार बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा ड्रोन आक्रमण भएपछि रोकिएको उडान सेवा फेरि सुरु भएको छ। आक्रमणपछि लागेको भीषण आगो दुबई सिभिल डिफेन्सले करिब दुई घण्टामा नियन्त्रणमा लिएको थियो।
सुरक्षालाई ध्यानमा राख्दै करिब ७ घण्टा उडान ठप्प पारिँदा हजारौँ यात्रु अलपत्र परेका थिए। अल जजिराका अनुसार, स्थिति नियन्त्रणमा आएर सुरक्षा जाँच सकिएपछि मात्र उडानहरू सुचारु गरिएका हुन्।
विश्वकै प्रमुख उड्डयन केन्द्र भएकाले केही घण्टाको अवरोधले पनि सयौँ उडान प्रभावित भएका छन्। खाडी क्षेत्रमा बढ्दो तनावका बीच भएको यो घटनापछि विमानस्थल क्षेत्रको सुरक्षा थप कडा पारिएको छ।