६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

पश्चिम एसियाका १० वटै नेपाली दूतावास खुल्लै, रोकिएको श्रम स्वीकृतिबारे पुनर्विचार हुँदै

पश्चिम एसियाका १० वटै नेपाली दूतावास खुल्लै, रोकिएको श्रम स्वीकृतिबारे पुनर्विचार हुँदै

काठमाडौं- पश्चिम एसियामा सुरक्षा चुनौती बढे पनि त्यहाँ रहेका १० वटै नेपाली दूतावासले आफ्ना सेवा निरन्तर दिइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दूतावास बन्द नभएको र राहदानी नवीकरणलगायत सम्पूर्ण कन्सुलर सेवा सुचारु रहेको बताए।

उनका अनुसार, सम्भव भएसम्मका कामहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमै लगिएको छ। राहदानीको बायोमेट्रिक जस्ता आफैँ उपस्थित हुनुपर्ने कामका लागि भने अग्रिम समय लिएर मात्र जान सकिने व्यवस्था मिलाइएको छ। यसले गर्दा सेवाग्राहीलाई सुरक्षित र सहज भएको छ।

यसैगरी, सुरक्षाको कारण देखाउँदै सरकारले अहिले पश्चिम एसियाका केही देशका लागि नयाँ र बिदामा आएर फर्किने दुवैथरीको श्रम स्वीकृति रोकेको छ। तर, यस विषयमा पनि सरोकारवालासँग गम्भीर छलफल भइरहेको र छिट्टै सकारात्मक निर्णय आउने मन्त्रालयले जनाएको छ।