जापानको ओकिनावामा दुई डुंगा पल्टिँदा एक विद्यार्थी र चालकको मृत्यु
- ०२ चैत्र २०८२
- १ मिनेटको पढाई
टोकियो — जापानको दक्षिणी टापु ओकिनावास्थित अमेरिकी सैन्य आधार शिविर सार्न लागिएको विवादित क्षेत्र हेनोको नजिकै सोमबार २१ जना सवार दुईवटा डुंगा पल्टिएका छन्। अधिकारीहरूले बताए अनुसार सबै जना पानीमा खसेका थिए र तीमध्ये दुई जनाको ज्यान गएको छ।
जापानी तटरक्षक टोलीले तीमध्ये १८ जना क्योटोको एक उच्च माध्यमिक विद्यालयका विद्यार्थी भएको बताए। उनीहरू शान्ति शिक्षा कार्यक्रमअन्तर्गत हेनोको क्षेत्र अवलोकन गर्न गएका थिए। जसमा ‘हेइवा मारु’ नामको डुंगामा १० जना र सानो ‘फुकुत्सु’ डुंगामा ८ जना सवार थिए।
तटरक्षकका उद्धारकर्ताले सबै २१ जनालाई पानीबाट बाहिर निकाले। तर, पछि १७ वर्षीया छात्रा र फुकुत्सु डुंगाका चालकको मृत्यु भएको घोषणा गरियो। अन्य दुई जना घाइते छन्, तर उनीहरूको अवस्था खतरामुक्त रहेको अधिकारीहरूले बताए।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको तटरक्षक अधिकारीहरूले बताए।
डुंगाहरू हेनोकोबाट करिब एक किलोमिटर पूर्वमा पल्टिएका थिए। दुर्घटनाको समयमा छालसम्बन्धी चेतावनी जारी गरिएको भए पनि पानी खासै अशान्त नभएको र डुंगाहरू एकआपसमा ठोक्किएको कुनै संकेत नभएको अधिकारीहरूले प्रस्ट पारे।
ओकिनावा र टोकियोबीच निरन्तर भइरहेका विरोध प्रदर्शन र मुद्दा मामिलाका कारण टापुको बाक्लो बस्तीबाट अमेरिकी मरीन कोर्प्स एयर स्टेसन ‘फुटेन्मा’लाई सार्ने योजना झन्डै ३० वर्षदेखि रोकिएको छ।
अधिकारीहरूका अनुसार हेनोको सैन्य अखडा सार्ने योजनाको विरोध गर्ने अभियानकर्ताहरूको मुख्य गन्तव्य हो, तर ती विद्यार्थीहरू भने विरोध प्रदर्शनमा गएका थिएनन्।
दुई देशबीचको सुरक्षा सम्झौताअन्तर्गत जापानमा रहेका करिब ५० हजार अमेरिकी सैनिकमध्ये आधाजसो ओकिनावामै बस्छन्। धेरै ओकिनावाका बासिन्दाहरू अमेरिकी सैन्य शिविरसँग जोडिएका दुर्घटना, कोलाहल, प्रदूषण र अपराधको जोखिमलाई लिएर गुनासो गर्छन्।