विश्वभरका नेपाली मूलका नागरिकलाई जोड्न सरकारसँग माग, परराष्ट्रमन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र
- ०३ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभर छरिएका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न सरकारसँग माग गरेको छ। संस्थाको अन्तर्राष्ट्रिय टोलीले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर यस विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो।
अध्यक्ष डिल्ली अधिकारी र उपाध्यक्ष सुशील पन्तलगायतको टोलीले नेपाली मूलका नागरिकलाई परिचयपत्र दिनुपर्ने र त्रिभुवन विमानस्थलमा उनीहरूका लागि छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। साथै, पूर्वी नेपालमा बाँकी रहेका करिब ७ हजार भुटानी शरणार्थीको मानवअधिकारका दृष्टिकोणले उचित व्यवस्थापन गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
सरकारले साथ दिएमा नेपालको वार्षिक बजेटभन्दा पनि ठूलो लगानी भित्र्याउन सकिने अध्यक्ष अधिकारीले बताए। ध्यानाकर्षण पत्र बुझ्दै परराष्ट्रमन्त्री शर्माले यी मागले नेपालको पहिचान बढाउन सघाउने भन्दै सरोकारवाला निकायसँग छलफल गरेर छिटै निष्कर्षमा पुग्ने आश्वासन दिए।