ट्रम्पको देशनिकाला अभियान अघि बढाउन मुल्लिन सिफारिस, सिनेटमा सुनुवाइ सुरु
- ०४ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘होमल्यान्ड सेक्युरिटी’ मन्त्रीका लागि सिफारिस गरेका मार्कवेन मुल्लिनको बुधबार सिनेटमा सुनुवाइ सुरु भएको छ। यसअघिकी मन्त्री क्रिस्टी नोएमलाई बर्खास्त गरिएपछि ट्रम्पले उनलाई यो जिम्मेवारी दिन लागेका हुन्।
मुल्लिनले कागजपत्रविहीन आप्रवासीलाई ठूलो संख्यामा देशनिकाला गर्ने ट्रम्पको योजना कसरी अघि बढाउँछन् भन्ने विषयमा सिनेटमा मुख्य प्रश्न उठ्नेछ। ओक्लाहोमाका सिनेटर मुल्लिन १३ वर्षदेखि संसदमा छन् र उनी ट्रम्पका नजिकका सहयोगी मानिन्छन्।
यसअघि ट्रम्प प्रशासनले आप्रवासीमाथि गरेको कडा धरपकड र मिनियापोलिसमा दुई प्रदर्शनकारीको मृत्यु भएपछि विपक्षी डेमोक्र्याटिक पार्टीले यस विभागको बजेट रोकेको छ। बजेट रोकिँदा विमानस्थलका सुरक्षाकर्मीले तलब पाएका छैनन्।
यसका साथै, विपद् व्यवस्थापन गर्ने निकाय (फेमा) मा रोकिएका काम र संघीय बजेटको विषयमा पनि मुल्लिनले सिनेटमा जवाफ दिनुपर्नेछ। अघिल्लो मन्त्रीको पालामा काममा ढिलासुस्ती भएको भन्दै यो निकाय अहिले नेतृत्वविहीन अवस्थामा छ।