२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

वारेन्ट बिना आप्रवासी पक्राउ गर्ने नियम कानुनसम्मत नभएको न्यायाधीशको ठहर

वारेन्ट बिना आप्रवासी पक्राउ गर्ने नियम कानुनसम्मत नभएको न्यायाधीशको ठहर

न्युयोर्क- अमेरिकामा एक संघीय न्यायाधीशले वारेन्ट बिना आप्रवासीहरूलाई पक्राउ गर्न आप्रवासन अधिकारीहरूलाई दिइएको निर्देशन कानुनसम्मत नभएको बताएकी छन्। वासिंटन डीसीकी जिल्ला न्यायाधीश बेरिल ए. होवेलले यस्तो निर्देशनलाई मार्गदर्शनको रूपमा प्रयोग गर्न नमिल्ने आदेश दिएकी हुन्।

न्यायाधीशका अनुसार अधिकारीहरूले कसैलाई पक्राउ गर्नुअघि ती व्यक्तिको समाजसँगको सम्बन्ध कस्तो छ भनेर मूल्याङ्कन गर्नुपर्ने हुन्छ। यो कुरा नहेरी उनीहरू भाग्न सक्छन् भनेर सिधै हिरासतमा लिन मिल्दैन। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सन् २०२५ मा भएको धरपकडको विरोध गर्दै चार जना गैरनागरिक र ‘कासा’ नामक संस्थाले यसको विरुद्धमा मुद्दा हालेका थिए।

यता, आन्तरिक सुरक्षा विभागले भने आफूहरूसँग पक्राउ गर्ने कानुनी अधिकार रहेको दाबी गरेको छ। उनीहरूले आफ्नो कामलाई सर्वोच्च अदालतले पनि मान्यता दिएको बताएका छन्। तर, नागरिक अधिकारका वकिलहरूले भने यो फैसलाले संघीय एजेन्टहरूले पनि कानुनको पालना गर्नैपर्छ भन्ने कुरा स्पष्ट पारेको बताएका छन्।