६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अमेरिकाद्वारा विदेशी डाक्टरको भिसा प्रक्रिया खुकुलो, अरू भने अझै अन्योलमा

अमेरिकाद्वारा विदेशी डाक्टरको भिसा प्रक्रिया खुकुलो, अरू भने अझै अन्योलमा

न्युयोर्क- ट्रम्प प्रशासनले केही देशका नागरिकको भिसा तथा ग्रिन कार्ड आवेदनमा लगाएको रोक डाक्टरहरूको हकमा भने खुला गरेको छ। तर, अन्य पेसाका हजारौँ आप्रवासीहरू भने अझै काम गर्न नपाएर अन्योलमा परेका छन्।

इन्डियानामा करिब एक हजार बिरामीको उपचार गरिरहेका लिबियाका डाक्टर फैसल अलगौला ग्रिन कार्ड नवीकरणको पर्खाइमा छन्। सरकारले डाक्टरहरूका लागि नियम खुकुलो बनाए पनि आवेदन समयमै स्वीकृत हुन्छ वा हुँदैन भन्ने अझै निश्चित छैन। आफ्नो अन्तर्वार्ता विनाकारण रद्द भएपछि फैसल चिन्तित छन्। ग्रामीण क्षेत्रमा डाक्टरको अभाव भइरहेको बेला सरकारले यो छुट दिएको हो।

अर्कोतर्फ, इरान, अफगानिस्तान र भेनेजुएलालगायत ३९ देशका अनुसन्धानकर्ता र व्यवसायीहरूको आवेदन अझै रोकिएकै अवस्थामा छ। काम गर्ने अनुमति नपाउँदा उनीहरूले स्वास्थ्य बिमा, सवारीचालक अनुमतिपत्र र रोजगार पाएका छैनन्। यदि उनीहरू अमेरिकाबाट बाहिरिए भने फेरि फर्केर आउन पाउने छैनन्।

आफ्नो आवेदनको टुंगो नलागेपछि अदालत गएकी इरानकी ३३ वर्षीया डाक्टर जहरा शोकरी भर्निअबको फाइल अधिकारीहरूले हेरे पनि आवेदन भने रद्द गरिदिएका छन्। त्यस्तै, कृषिमा विद्यावारिधि गर्न सात वर्षअघि अमेरिका आएका इरानकै ४१ वर्षीय कावेह जभानशिरजाभिद काम गर्ने अनुमति नपाउँदा साथीहरूसँग ऋण मागेर भाडा तिर्न बाध्य छन्। इरानमा चलिरहेको युद्धका कारण उनीहरूलाई घर फर्किन र परिवारसँग सम्पर्क गर्न समेत गाह्रो भइरहेको छ।