टक्सनमा अध्यागमन अधिकारीको कारबाही ट्र्याक गर्न समुदायले बनायो नयाँ नक्सा
- २६ बैशाख २०८३
- २ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको टक्सन सहरमा आप्रवासी अधिकारकर्मीहरूले अध्यागमन एजेन्सीहरूको कारबाही ट्र्याक गर्न एउटा नयाँ उपकरण ‘टक्सन माइग्रा म्याप’ बनाएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको सामूहिक देश निकाला अभियान अन्तर्गत पक्राउ पर्नेको संख्या तीव्र रूपमा बढेपछि यो नक्सा तयार पारिएको हो। यसले संघीय एजेन्सीहरूको कारबाहीलाई अभिलेख राख्न र दृश्य रूपमा हेर्न मद्दत गर्छ।
अधिकारकर्मी लुसिया भिन्डियोलाले यसले समुदायमा कति अस्तव्यस्तता ल्याएको छ भन्ने कुरा प्रस्ट पार्ने बताइन्। “हामीले परिवारहरूमा परेको असर प्रत्यक्ष देखिरहेका छौं, उनीहरूलाई दैनिक उपभोग्य सामान किन्न समेत गाह्रो भएको छ,” उनले भनिन्।
पछिल्लो समय अध्यागमन सम्बन्धी गिरफ्तारी तीन गुणाले बढेको छ। सन् २०२४ को अन्त्यमा दुई सय भन्दा कम रहेको यस्तो संख्या सन् २०२५ को जुनसम्ममा आठ सय नाघेको छ। बढ्दो कारबाहीसँगै सडकमा हुने अध्यागमनका गतिविधि निगरानी गर्न स्थानीय समूहहरू सक्रिय भएका छन्।
नक्साका सह-निर्माता तथा भूगोलविद् डुगन मेयरले यो समुदायमा आधारित अनुसन्धान र म्यापिङ परियोजना भएको बताए। नक्सामा सन् २०२५ को जनवरीदेखि संकलन गरिएका छापा, सवारीसाधन रोकेका र हवाई निगरानीका विवरणहरू समावेश छन्। घटनाहरूलाई प्राप्त प्रमाणको आधारमा ‘पुष्टि भएको’ वा ‘विश्वसनीय तर पुष्टि नभएको’ भनेर वर्गीकरण गरिन्छ।
आप्रवासीहरूको अधिकारका लागि काम गर्ने द्रुत प्रतिक्रिया टोलीका सदस्य स्टिभन डेभिस जस्ता सयौं प्रत्यक्षदर्शीहरूले यसमा जानकारी दिएका छन्। डेभिस आफैं पनि एक कारबाहीका क्रममा सुरक्षाकर्मीबाट खुर्सानीको धुलोको सिकार भएका थिए। उनले पर्दा पछाडि हुने यस्ता गतिविधिहरूलाई नक्सा मार्फत आम मानिससामु ल्याउन सजिलो भएको बताए।
यो नक्साले निगरानीका ढाँचाहरू र धेरै कारबाही हुने ठाउँहरू (जस्तै स्थानीय किराना पसलहरू) पहिचान गर्न सजिलो बनाएको छ। मेयरका अनुसार अप्रिलको अन्त्यसम्ममा करिब ५६२ घटनाको समीक्षा गरिएकोमा ३०० वटालाई नक्सामा समावेश गरिएको छ। यो वास्तविक तथ्यांक भन्दा कम हुन सक्ने उनको अनुमान छ।
यसअघि यस्तै प्रकारका ट्र्याकिङ साइटहरूलाई प्रशासनले बन्द गराएको थियो। तर, यो नक्साले अहिले भइरहेको कारबाहीको नभई घटना घटेपछिको जानकारी मात्र दिने भएकाले यसलाई सुरक्षित मानिएको छ। सार्वजनिक जानकारी संकलन र आदानप्रदान गर्नु कुनै अपराध नभएको मेयरले स्पष्ट पारे।