२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

गाजा जाँदै गरेका दुई अभियन्तालाई इजरायलले देश निकाला गर्‍यो

गाजा जाँदै गरेका दुई अभियन्तालाई इजरायलले देश निकाला गर्‍यो

इजरायल- गाजा क्षेत्रमा लगाइएको समुद्री नाकाबन्दी तोड्दै राहत सामग्री लैजान खोज्ने दुई जना अभियन्तालाई इजरायलले देश निकाला गरेको छ। एक साताभन्दा बढी समय हिरासतमा राखेपछि उनीहरूलाई आइतबार देश फर्काइएको हो।

देश निकाला हुनेमा प्यालेस्टिनी मूलका स्पेनिस-स्विडिस नागरिक सेफ अबुकेशेक र ब्राजिलका नागरिक थियागो अभिला छन्। उनीहरूलाई गाजातर्फ जाँदै गर्दा इजरायली नौसेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमै रोकेर पक्राउ गरेको थियो। इजरायलले उनीहरूलाई कानुन विपरीत काम गरेको आरोप लगाए पनि कुनै औपचारिक मुद्दा भने दर्ता गरेको थिएन।

आफ्ना नागरिकलाई समुद्रबाटै पक्राउ गरेको भन्दै स्पेन र ब्राजिलले इजरायलले ‘अपहरण’ गरेको आरोप लगाएका थिए। गाजामा राहत लैजान हिँडेका २२ वटा डुङ्गा र १७५ जना अभियन्तालाई इजरायलले बीच बाटोमै रोकेको थियो। रिहा भएपछि ग्रीसको एथेन्स पुगेका अबुकेशेकले गाजाको नाकाबन्दी र प्यालेस्टिनी बन्दीहरूलाई गरिने दुर्व्यवहारको विरोध निरन्तर गर्ने बताए।

यसैबीच, गाजाको खान युनिस सहरमा आइतबार इजरायलले गरेको आक्रमणमा परी हमासका एक प्रहरी अधिकारीसहित दुई जनाको ज्यान गएको छ। अक्टोबरमा भएको युद्धविराम सम्झौतापछि पनि उक्त क्षेत्रमा दैनिकजसो आक्रमणका घटनाहरू भइरहेका छन्।