कोलोराडोमा बिना वारेन्ट पक्राउ गरेकोमा अध्यागमन अधिकारीहरू दोषी ठहर
- ३१ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- कोलोराडोमा अध्यागमन अधिकारीहरूले अदालतको नियम मिचेर मानिसहरूलाई पक्राउ गरेको पाइएको छ। संघीय न्यायाधीश आर. ब्रुक ज्याक्सनले मंगलबार एक फैसला सुनाउँदै अध्यागमन विभाग (आइस) का एजेन्टहरूले अदालतको पुरानो आदेश उल्लंघन गरेको बताए।
गएको नोभेम्बरमा न्यायाधीश ज्याक्सनले बिना वारेन्ट कसैलाई पनि जथाभाबी पक्राउ नगर्न आदेश दिएका थिए। कसैलाई पक्राउ गर्नुपरेमा उनी भाग्न लागेको पक्का प्रमाण हुनुपर्ने नियम थियो। तर, अधिकारीहरूले त्यो नियम नमानी मानिसहरूलाई समात्ने काम जारी राखेको भन्दै अदालतले आपत्ति जनायो।
कोलोराडोको एसीएलयू नामक संस्थाले यस विषयमा मुद्दा हालेको थियो। उनीहरूले अध्यागमन विभागले नियम मिचेर ल्याटिनो समुदायका मानिसहरूलाई दुख दिएको आरोप लगाएका थिए। अदालतले अब ती अधिकारीहरूलाई ४५ दिनभित्र विशेष तालिम दिन र बिना वारेन्ट समातिएका मानिसहरूको सबै विवरण बुझाउन सरकारलाई आदेश दियो।
कोलोराडोका अधिकारवादीहरूले यस फैसलालाई कानुनको ठूलो जित भनेका छन्। अदालतले अध्यागमन विभाग कानुनभन्दा माथि नरहेको प्रस्ट पारेको उनीहरूको भनाइ छ।