अमेरिकाबाट एल साल्भाडोर फिर्ता पठाइनेको संख्या झण्डै दोब्बर
- ३१ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाबाट एल साल्भाडोरका नागरिकहरूलाई देश निकाला (डिपोर्ट) गर्ने क्रम ह्वात्तै बढेको छ। सन् २०२६ को पहिलो तीन महिनामै ५ हजारभन्दा बढी साल्भाडोरनहरूलाई फिर्ता पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो।
एल साल्भाडोरको अध्यागमन विभागका अनुसार २०२६ को सुरुवाती तीन महिनामा ५,०३३ जनालाई अमेरिकाबाट फिर्ता पठाइयो। सन् २०२५ को सोही अवधिमा यो संख्या २,५४७ मात्र थियो। यो झण्डै ९८ प्रतिशतको वृद्धि हो। अमेरिकाले विश्वभर नै डिपोर्टेसन उडानहरू बढाएसँगै साल्भाडोरमा पनि यसको प्रत्यक्ष असर देखिएको छ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले अमेरिकी राष्ट्रपति ट्रम्पको ‘मास डिपोर्टेसन’अभियानलाई खुला रूपमा साथ दिएका छन्। उनले ट्रम्पको एजेन्डालाई सफल बनाउन आफू सहयोगी बन्न तयार रहेको बताएका छन्। यसअघि उनले अमेरिकाबाट पठाइएका भेनेजुएलाका अपराधीहरूलाई समेत आफ्नो देशको ‘मेगा जेल’ मा राख्न सहमति जनाएका थिए, जसका लागि अमेरिकाले उनलाई ६० लाख डलर दिने सम्झौता गरेको थियो।
बुकेलेले हालै ट्रम्पले अघि सारेको ‘शिल्ड अफ द अमेरिकाज’नामक समूहमा पनि सहभागिता जनाएका छन्। यो सहकार्यले गर्दा अमेरिकामा रहेका करिब २ लाख साल्भाडोरनहरू आफ्नो भविष्यलाई लिएर चिन्तित बनेका छन्। उनीहरूलाई दिइएको अस्थायी सुरक्षा जुनसुकै बेला हट्न सक्ने डर बढेको छ।
बुकेलेले मानव अधिकार उल्लंघनको आलोचना खेपिरहेका बेला, अमेरिकालाई बसाइँसराइ नियन्त्रणमा सहयोग गरेर ती आलोचनाहरूलाई दबाउन खोजेको विश्लेषकहरू बताउँछन्। यो कडाइले गर्दा आगामी दिनमा डिपोर्ट हुनेहरूको संख्या अझै बढ्न सक्ने देखिएको छ।