मेक्सिकोको समुद्री बाटोमा बेपत्ता ४० आप्रवासीको खोजीमा परिवार
- ०१ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका प्रवेश गर्ने आशमा सन् २०२४ को अन्त्यतिर मेक्सिकोको खतरनाक समुद्री बाटो हुँदै हिँडेका ४० जना आप्रवासी बेपत्ता भएका छन्। क्युबा, होन्डुरस र इक्वेडरका ती नागरिकहरू डिसेम्बर २४ देखि सम्पर्कविहीन भएका हुन्। अहिले उनीहरूका परिवारका सदस्यहरू मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा पुगेर आफ्ना मान्छेको खोजी गरिरहेका छन्।
हराइरहेकी एक क्युबाली युवतीकी आमा आइसिस पेरेज पनि छोरी खोज्दै मेक्सिको आइपुगेकी छन्। बेपत्ता भाइको खोजीमा आएका होन्डुरसका ओस्कार हर्नान्डेजले आफूहरू निरन्तर पीडा र छटपटीमा बाँचिरहेको बताए। परिवारका सदस्यहरूले तटीय क्षेत्रमा घुमेर र स्थानीयलाई सोधेर जानकारी जुटाउने प्रयास गरे पनि अहिलेसम्म कुनै पक्का खबर पाएका छैनन्।
हराएका ती मानिसहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुअघि नै अमेरिका पुग्न हतारिएका थिए। ट्रम्पले आप्रवासन नियममा कडाइ गर्ने डरले उनीहरूले यो खतरनाक बाटो रोजेको परिवारले बताए। अधिकारकर्मीहरूका अनुसार मेक्सिकोमा जमिनमा हराएका मानिस खोज्न त गाह्रो छ भने समुद्रमा हराएकालाई भेटाउनु झनै चुनौतीपूर्ण छ।
आफ्ना मान्छे नभेटिएपछि परिवारका सदस्यहरू अहिले भारी मन लिएर आ-आफ्नो देश फर्किँदै छन्। तर उनीहरूले टाढैबाट भए पनि खोजी कार्य नरोक्ने बताए। पेरेजले दुःखी मन लिएर फर्किए पनि आफ्ना मान्छे भेटिने आश अझै नमरेको बताइन्।