२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अध्यागमनको आरोपमा सय दिनभन्दा बढी जेल परेका मेकानिक रोबर्टो रिहा

अध्यागमनको आरोपमा सय दिनभन्दा बढी जेल परेका मेकानिक रोबर्टो रिहा

न्युयोर्क- अमेरिकाको मोन्टाना राज्यमा अध्यागमनको आरोपमा सय दिनभन्दा बढी समयदेखि जेलमा रहेका मेकानिक रोबर्टो ओरोस्को-रामिरेज रिहा भएका छन्। एक संघीय न्यायाधीशले उनलाई थुनामा राख्ने कार्य गैरकानुनी भएको फैसला गरेपछि उनी बिहीबार जेलमुक्त भएका हुन्।

रोबर्टो मेक्सिकोका नागरिक हुन्। उनी सानै छँदा अमेरिका आएका थिए। सन् २००९ मा उनलाई देश निकाला गरिएको थियो। तर पछिल्लो १० वर्षदेखि उनी मोन्टानाको फ्रोइड भन्ने सानो सहरमा सपरिवार बस्दै आएका थिए। गत जनवरी २५ मा सीमा गस्ती प्रहरीले उनलाई पक्राउ गरेको थियो र त्यसयता उनी लगातार जेलमै थिए।

रोबर्टो पक्राउ परेपछि फ्रोइड सहरका स्थानीय बासिन्दाहरूले उनको कानुनी लडाइँका लागि हजारौं डलर चन्दा उठाएका थिए। जम्मा १९५ जना मात्र बसोबास गर्ने उक्त सहरले उनलाई ठूलो साथ दिएको थियो। जेलबाट बाहिर निस्कने क्रममा उनले आफ्ना १९ वर्षीय छोरालाई अँगालो हाल्दै भावुक बनेका थिए। उनले भने, “धेरै समय लाग्यो, तर हामी अन्ततः सफल भयौं, अब म घर जान चाहन्छु।”

ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिको कारण उनलाई धरौटीमा छुट्न दिइएको थिएन। तर न्यायाधीश ब्रायन मोरिसले सरकारको उक्त नीतिलाई गलत ठहर गर्दै रोबर्टोलाई २४ घण्टाभित्र रिहा गर्न आदेश दिएका थिए। यसअघि अप्रिल महिनामा सरकारले उनीमाथि लगाएको अवैध प्रवेशको आरोप पनि फिर्ता लिएको थियो। उनका वकिलले यस रिहाइलाई ठूलो जित र समुदायको एकताको फल बताएका छन्।