२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

भेनेजुएलाद्वारा पूर्वराष्ट्रपति मादुरोका मुख्य सहयोगी एलेक्स साब अमेरिका सुपुर्दगी

भेनेजुएलाद्वारा पूर्वराष्ट्रपति मादुरोका मुख्य सहयोगी एलेक्स साब अमेरिका सुपुर्दगी

न्युयोर्क- भेनेजुएला सरकारले पूर्वराष्ट्रपति निकोलस मादुरोका निकै नजिकका सहयोगी एवं व्यापारी एलेक्स साबलाई अमेरिका निकाला (डिपोर्ट) गरेको छ। अमेरिकामा विभिन्न आपराधिक अनुसन्धानको सामना गरिरहेका साबलाई तीन वर्षअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले कैदी साटासाट अन्तर्गत माफी दिएर रिहा गरेका थिए।

यो निर्णयलाई साबका लागि ठूलो धक्काका रूपमा हेरिएको छ। सन् २०२० मा उनी पक्राउ पर्दा तत्कालीन राष्ट्रपति मादुरोले उनलाई स्वदेश फर्काउन निकै ठूलो कसरत गरेका थिए। अमेरिकी अधिकारीहरूले साबलाई मादुरोको ‘पैसा व्यवस्थापन गर्ने मुख्य व्यक्ति’ का रूपमा हेर्दै आएका थिए। गत जनवरीमा अमेरिकी सेनाको एउटा कारबाहीका क्रममा पक्राउ परेका मादुरोमाथि अहिले अमेरिकामा लागुऔषधको मुद्दा चलिरहेको छ। अब साबले आफ्ना पूर्व संरक्षक मादुरोविरुद्ध नै अदालतमा गवाही दिन सक्ने अनुमान गरिएको छ।

५४ वर्षीय साबले भेनेजुएला सरकारको विभिन्न ठेक्कापट्टाबाट ठूलो सम्पत्ति कमाएका थिए। तर मादुरो सत्ताबाट हटेपछि देशको नयाँ नेतृत्वसँग उनको सम्बन्ध बिग्रिएको थियो। गत जनवरी ३ मा सत्ता सम्हालेकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले साबलाई मन्त्रीमण्डलबाट हटाएर विदेशी लगानी भित्र्याउने मुख्य जिम्मेवारीबाट समेत वञ्चित गरेकी थिइन्। साबलाई हटाइएपछि सत्ताधारी गठबन्धनभित्र समेत विवाद बढ्न सक्ने देखिएको छ।

अमेरिकी अभियोजकहरूले विगत केही महिनादेखि भेनेजुएला सरकारको खाद्यान्न आयात गर्ने सरकारी कार्यक्रममा साबको संलग्नता र घूसखोरीको विषयमा अनुसन्धान गरिरहेका छन्। साबले महँगो मूल्यमा खाद्यान्न आयात गरी भ्रष्टाचार गरेको र विदेशी बैंकहरू मार्फत पैसा ओसारपसार गरेको आरोप छ।

भेनेजुएलाको अध्यागमन विभागले एक संक्षिप्त विज्ञप्ति निकाल्दै उनलाई कोलम्बियाको नागरिक भन्दै अमेरिकामा चलिरहेको आपराधिक अनुसन्धानका आधारमा देश निकाला गरिएको जनाएको छ। भेनेजुएलाको कानुनले आफ्ना नागरिकलाई अर्को देशमा सुपुर्दगी गर्न रोक्ने भएकाले उनलाई कोलम्बियाली नागरिक मात्र भनिएको हो। यसअघि सन् २०२२ मा अदालतमा भएको एक सुनुवाइमा साबका वकिलहरूले उनले अमेरिकी एजेन्सीहरूलाई मादुरोको भित्री समूहमा हुने भ्रष्टाचारका बारेमा गोप्य रूपमा जानकारी दिने गरेको खुलाएका थिए।