न्यूयोर्कको सफोल्क काउन्टीद्वारा नेपाली चेली देवी प्रतिभा सम्मानित
- ०७ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्यूयोर्क- भारतमा आध्यात्मिक प्रवचनमा प्रख्यात नेपाली चेली देवी प्रतिभालाई अमेरिकाको न्यूयोर्कस्थित सफोल्क काउन्टीले विशेष सम्मान गरेको छ। न्यूयोर्कको वुडसाइडमा क्रियापुत्री भवन र गुम्बा निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको श्रीमद्भागवत सप्ताहको अन्तिम दिन उनलाई सम्मानपत्र प्रदान गरिएको हो। मे १५ देखि १७ सम्म चलेको उक्त धार्मिक कार्यक्रममा उनले कथा वाचन गरेकी थिइन्।
सफोल्क काउन्टीका व्यवस्थापक सामुएल गोन्जालेजले हस्ताक्षर गरेको सम्मानपत्रमा प्रतिभाले सनातन धर्मको विश्वव्यापी राजदूतको भूमिका निभाएको उल्लेख छ। उनले आफ्नो प्रस्तुतिमार्फत विश्वभरका हिन्दू संस्कृतिलाई जोड्न र आध्यात्मिक प्रवचनबाट सकारात्मक ऊर्जा फैलाउन महत्त्वपूर्ण योगदान दिएको बताइएको छ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा जन्मेकी प्रतिभाले भारतको वृन्दावनबाट संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी छन्। कम उमेरमै आध्यात्ममा लागेकी उनी प्रवचनका क्रममा मीठो भजन गाउँदै भक्तजनलाई नचाउन सिपालु छिन्। हामी नेपाली इन्टरनेशनलका केन्द्रीय अध्यक्ष नवराज केसीले उनले अमेरिकामा सम्मान पाउनु सम्पूर्ण नेपालीकै सम्मान भएको बताए। प्रतिभाले वाचन गरेको श्रीमद्भागवत निकै भव्य रूपमा सम्पन्न भएको पनि उनले जानकारी दिए।