अध्यागमनमा ‘डिजिटल टाइम कार्ड’ सुरु, विनाकारण भिजिट भिसा रोके कर्मचारीकै पैसामा टिकट काटिदिने
- ०७ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- अध्यागमन विभागले सेवालाई पारदर्शी र छिटोछरितो बनाउन बिहीबारदेखि ‘डिजिटल टाइम कार्ड’ सुरु गरेको छ। अब आफ्नो काम सकिन कति समय लाग्छ र कुन अवस्थामा छ भनेर मोबाइलबाटै हेर्न मिल्नेछ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले यसबाट सेवाग्राहीको समय बच्ने र कामको जानकारी लिन कार्यालय धाउनुपर्ने बाध्यता हट्ने बताए। विभागको प्रतिक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आफ्नो आवेदनको अवस्था सजिलै ट्र्याक गर्न सकिनेछ। यो प्रणाली लागू भएसँगै कुन कर्मचारीले कति काम गरे भनेर प्रशासनिक निगरानी गर्न पनि सजिलो हुने उनले बताए।
यस्तै, विभागले भिजिट भिसामा हुने विकृति र मानव तस्करी नियन्त्रणमा सफलता पाएको तिवारीले दाबी गरे। नेपाल आएका विदेशी नागरिकको गतिविधिमाथि पनि विभागले निगरानी बढाइरहेको उनले जानकारी दिए।
उनले सबै कागजात पुगेर पनि भिजिट भिसामा विदेश जान रोकिएका नेपाली नागरिकलाई सिधै विभागमा उजुरी गर्न आग्रह गरेका छन्। यदि विनाकारण फर्काएको प्रमाणित भए, दुःख दिने कर्मचारीकै पैसाबाट टिकट काटेर गन्तव्यमा पठाउने उनले बताए।