अमेरिकाबाट निकालिएका ९ आप्रवासी सियरा लियोन पुगे, तेस्रो मुलुक पठाउने सम्झौता कार्यान्वयनमा
- ०७ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- पश्चिम अफ्रिकी देश सियरा लियोनमा अमेरिकाबाट निकालिएका नौ जना आप्रवासी बुधबार आइपुगेका छन्। अमेरिकी सरकारले आप्रवासीहरूलाई तेस्रो मुलुक पठाउने सम्झौताअन्तर्गत उनीहरू त्यहाँ पुगेका हुन्।
सियरा लियोनको सञ्चार मन्त्रालयका अनुसार तीमध्ये पाँच जना घानाका, दुई जना गिनीका, एक जना सेनेगलका र एक जना नाइजेरियाका नागरिक हुन्। सुरुमा २४ जना आउने भनिए पनि उडानअघि केहीको निकाला प्रक्रिया अदालतले रोकेको कानुन व्यवसायीले बताए।
सियरा लियोनका विदेशमन्त्री टिमोथी काब्बाले अमेरिकी सरकारको १५ लाख डलर अनुदान सहयोगमा पश्चिम अफ्रिकी नागरिकलाई मात्र अस्थायी रूपमा राख्ने सम्झौता भएको बताए।
ती आप्रवासीहरूको खानपान, बास र स्वास्थ्यको जिम्मा एक निजी कम्पनीलाई दिइएको छ। उनीहरूलाई १४ देखि ३० दिनभित्र आ-आफ्नो देश पठाइने वा अन्यत्र सारिने मन्त्रालयले जनाएको छ। यो कार्यक्रमअन्तर्गत महिनामा २५ र वर्षमा ३०० जनासम्मलाई त्यहाँ पठाइनेछ।
अमेरिकाले कंगो, रुवान्डा, युगान्डा लगायत अन्य आठ अफ्रिकी देश तथा केही ल्याटिन अमेरिकी देशसँग पनि यस्तै प्रकारको सम्झौता गरेको छ। मानवअधिकारकर्मीहरूले भने यी सम्झौताले आप्रवासीको अधिकार हनन हुने भन्दै कडा आलोचना गरेका छन्।