२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

ग्रीन कार्डका लागि आफ्नै देश फर्किनुपर्ने ट्रम्पको नयाँ नीतिले अन्योल

ग्रीन कार्डका लागि आफ्नै देश फर्किनुपर्ने ट्रम्पको नयाँ नीतिले अन्योल

न्युयोर्क- अमेरिकामा रहेका विदेशी नागरिकहरूका लागि ग्रीन कार्ड पाउने बाटो अब थप जटिल बन्ने भएको छ। ट्रम्प प्रशासनको नयाँ नीतिका कारण कानुनी रूपमा अमेरिकामा बसिरहेका लाखौँ विदेशीहरू अब ग्रीन कार्ड आवेदनका लागि आफ्नै देश फर्किनुपर्ने चिन्तामा परेका छन्।

अमेरिकी नागरिकता तथा अध्यागमन सम्बन्धी निकायले अस्थायी रूपमा अमेरिकामा रहेका विदेशीहरूले ग्रीन कार्डका लागि अब आफ्नै देशमा फर्केर आवेदन दिनुपर्ने नियम सार्वजनिक गरेको छ। केही विशेष अवस्थामा बाहेक यो नियम सबैलाई लागू हुने भनिएपछि अध्यागमन वकील र आप्रवासीहरूमाझ ठूलो अन्योल छाएको छ।

यो नयाँ व्यवस्थाले हरेक वर्ष ग्रीन कार्डको पर्खाइमा रहने लाखौँ मानिसलाई सिधै असर पार्ने वकीलहरूले बताए। उनीहरूका अनुसार यो कानुनी प्रक्रियामा रहेका मानिसहरूलाई डराउने र प्रक्रिया ढिलो गराउने काम मात्र हो।

अमेरिकी गृह मन्त्रालयले भने नियम पालना गर्ने र दक्ष कामदारहरूलाई यसले खासै असर नगर्ने दाबी गरेको छ। तर कुन-कुन क्षेत्रका मानिसले छुट पाउँछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। नयाँ नियम पूर्ण रूपमा कसरी लागू हुन्छ भन्ने स्पष्ट नभएकाले वकीलहरूले आफ्ना ग्राहकलाई अहिल्यै नआत्तिन र केही समय पर्खिएर मात्र अगाडि बढ्न सल्लाह दिएका छन्।