२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

न्युयोर्क टाइम्सको उत्कृष्ट सयमा परेकी नेपाली भान्साघरकी सञ्चालिका विमला सम्मानित

न्युयोर्क टाइम्सको उत्कृष्ट सयमा परेकी नेपाली भान्साघरकी सञ्चालिका विमला सम्मानित

न्युयोर्क- न्युयोर्कको ज्याक्सन हाइटस्थित ‘नेपाली भान्साघर’की सञ्चालिका विमला हमाल श्रेष्ठलाई स्याङ्जा समाज अमेरिकाले एक समारोहबीच सम्मान गरेको छ।

न्युयोर्कको प्रसिद्ध पत्रिका न्युयोर्क टाइम्सले प्रत्येक वर्ष यहाँ सञ्चालित रेस्टुरेन्टहरूको खानाको परिकार, व्यवस्थापन, सरसफाइ र ग्राहकको रोजाइका आधारमा उत्कृष्ट सयको सूची निकाल्ने गर्छ। यस पटक सोही छनोटमा नेपाली भान्साघर ६७औँ स्थानमा पर्न सफल भएको छ।

उत्कृष्ट सयभित्र परेर नेपाली खानाको परिकार विश्वभर चिनाउँदै नेपालको नाम उच्च पारेको भन्दै स्याङ्जा समाज अमेरिकाले उनलाई विशेष सम्मान गरेको हो। कार्यक्रममा विमलालाई खादा र विशेष सम्मानपत्रसहित सम्मान गरिएको थियो।

स्याङ्जा समाज अमेरिकाका अध्यक्ष प्रदीप खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना दिएका थिए। शुभकामना व्यक्त गर्नेहरूमा पूर्वअध्यक्ष तथा सल्लाहकार दिनेश भण्डारी, सल्लाहकार लिल मल्ल, मानार्थ सदस्य सन्त रिसाललगायत थिए।

स्याङ्जा समाज अमेरिकाका संस्थापक अध्यक्ष तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रियका पूर्वअध्यक्ष वीरेन्द्रजंग केसीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उनले नेपाली भान्साघर न्युयोर्क टाइम्सको छनोटमा पर्नु र सम्मानित हुनु स्याङ्जालीको मात्र नभएर सम्पूर्ण नेपाल र नेपालीको सम्मान भएको बताउँदै विमलालाई बधाई दिए।

कार्यक्रमको सञ्चालन समाजका महासचिव शिवभक्त जंग केसीले गरेका थिए। स्याङ्जा घर भएकी विमला स्याङ्जा समाज अमेरिकाकी पूर्वअध्यक्ष पनि हुन्।

सन्त रिसाल,न्युयोर्क