अमेरिकी हिरासत केन्द्रमा आप्रवासीमाथि चरम लापरवाही: क्यान्सर र इन्फेक्सनको पनि भएन उपचार
- २० जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाका विभिन्न राज्यमा रहेका अध्यागमन हिरासत केन्द्रहरूमा आप्रवासीहरूले गम्भीर स्वास्थ्य लापरवाही भोग्नुपरेको खुलासा भएको छ। एसोसिएटेड प्रेस र केएफएफ हेल्थ न्यूजले गरेको एउटा संयुक्त अनुसन्धानले यस्तो डरलाग्दो तथ्य बाहिर ल्याएको हो।
अनुसन्धानका अनुसार अमेरिकाका ३३ वटा राज्यमा रहेका हिरासत केन्द्रहरूमा आप्रवासीहरूलाई आवश्यक स्वास्थ्य सेवा दिइएको छैन। हिरासतमा रहेका थुनुवाहरूले अदालतमा हालेको मुद्दा अनुसार उनीहरूले समयमा औषधि समेत पाउँदैनन्। उच्च रक्तचाप, मधुमेह, मानसिक तनाव र एचआईभी जस्ता रोगका बिरामीले महिनौंसम्म औषधि नपाउँदा कतिपयको स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ। घाउको उपचार नहुँदा इन्फेक्सन फैलिएको छ भने क्यान्सर जस्तो कडा रोगको समेत उपचार नगरिएको थुनुवाहरूले बताए।
प्रतिवेदन अनुसार दाँतको दुखाइ खप्न नसकेर एक जनाले आफैँ आफ्नो दाँत थुतेका थिए। त्यस्तै, कतिपयले आँखाको दृष्टि गुम्न लाग्दा समेत औषधिको थोपा पाएनन्। थुनुवाहरूलाई विना सूचना एक ठाउँबाट अर्को ठाउँमा सारिरहने हुनाले पनि उनीहरूको उपचार बीचमै रोकिने गरेको छ।
विगत दुई दशकको तुलनामा अहिले अमेरिकी हिरासतमा थुनुवाहरूको मृत्यु हुने दर सबैभन्दा बढी देखिएको छ। पछिल्लो समय हिरासत भित्र ५१ जनाको मृत्यु भइसकेको छ, जसमा आत्महत्या गर्नेहरूको संख्या निकै धेरै छ।
यस विषयमा अमेरिकी गृह सुरक्षा मन्त्रालयसँग प्रतिक्रिया माग्दा उनले कुनै जवाफ दिन अस्वीकार गरे। यद्यपि, विभागका स्वास्थ्य अधिकारीहरूले भने आप्रवासीहरूलाई समयमै उचित उपचार दिने गरिएको दाबी गर्दै आएका छन्।