२२ जेष्ठ २०८३, शुक्रबार
5 June 2026, Friday

आप्रवासी प्रदर्शनमा पत्रकारको झोला चोर्ने अमेरिकी प्रहरी पक्राउ

आप्रवासी प्रदर्शनमा पत्रकारको झोला चोर्ने अमेरिकी प्रहरी पक्राउ

न्युयोर्क – न्युजर्सीमा एक प्रहरी अधिकारी पत्रकारको क्यामेरा र उपकरण चोरेको आरोपमा पक्राउ परेका छन्। नेवार्कस्थित एक अध्यागमन जेलबाहिर भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेकी फोटो पत्रकारको १० हजार डलर बराबरको सामान चोरेको आरोपमा प्रहरी सार्जेन्ट ड्यारिल ब्राउनलाई पक्राउ गरिएको हो।

समाचार संस्था एपीका लागि काम गर्ने फोटो पत्रकार एन्जेलिना क्याट्सानिस प्रहरी र प्रदर्शनकारीबीचको झडपमा घाइते भएकी थिइन्। घुँडामा चोट लागेपछि उपचारका लागि जाँदा उनले आफ्नो झोला त्यहीँ छाडेकी थिइन्। पछि फर्केर हेर्दा उनको झोला त्यहाँ थिएन।

पत्रकार एन्जेलिनाले आफ्नो झोलामा राखिएको स्थान पत्ता लगाउने उपकरणको मद्दतले त्यो झोला प्रहरी अधिकारी ब्राउनको घरमा पुगेको पत्ता लगाइन्। त्यसपछि अधिकारीहरूले ब्राउनको घरमा खानतलासी गर्दा पत्रकारको नाम र फोन नम्बर लेखिएका ती उपकरणहरू फेला पारेका थिए। ब्राउनको शरीरमा जडान गरिएको क्यामेराको भिडियोमा पनि उनले त्यो झोला चलाइरहेको देखिएको छ।

एन्जेलिनाले आफू यो घटनाबाट निकै डराएको बताइन्। उनले भनिन्, “प्रहरी कानुनको पालना गराउन र हाम्रो सम्पत्तिको रक्षा गर्न त्यहाँ हुनुपर्ने हो, तर यहाँ ठीक उल्टो भयो।”

अहिले प्रहरी अधिकारी ब्राउनलाई बिना तलब कामबाट निलम्बन गरिएको छ र उनीमाथि चोरीको मुद्दा दर्ता गरिएको छ। उक्त अध्यागमन केन्द्रमा आप्रवासीमाथिको कडाइको विरोधमा केही समययता लगातार प्रदर्शन हुँदै आएको छ।