विद्यार्थीको हत्याबारे टिप्पणी गरेपछि अमेरिकी उपराष्ट्रपति भान्सको आलोचना
- २३ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको आलोचना गरेका छन्। बेलायतमा एक विद्यार्थीको हत्या भएको विषयलाई लिएर भान्सले आप्रवासीलाई दोष दिएपछि प्रधानमन्त्रीको कार्यालयले विरोध गरेको हो।
गत डिसेम्बरमा बेलायतको साउथह्याम्पटन सहरमा हेनरी नोवाक नामका १८ वर्षीय विद्यार्थीलाई विक्रम डिग्वा नामका व्यक्तिले छुरा हानेर हत्या गरेका थिए। डिग्वाले आफूमाथि जातीय दुर्व्यवहार भएको झुटो आरोप लगाएका थिए। त्यसैले घटनास्थलमा पुगेको प्रहरीले घाइते नोवाकलाई नै सुरुमा हतकडी लगाएको थियो। पछि मात्र उनलाई छुरा लागेको थाहा भयो र उनको ज्यान गयो। यसै साता अदालतले डिग्वालाई हत्याको दोषी ठहर गर्दै कम्तीमा २१ वर्षको जेल सजाय सुनाएको छ।
हत्यारा र मारिने दुवै बेलायती नागरिक हुन्। तर यस घटनालाई लिएर केही नेताहरूले आप्रवासीको विरोध गरिरहेका छन्। अमेरिकी उपराष्ट्रपति भान्सले सामाजिक सञ्जालमा लेख्दै यो हत्याको कारण ठूलो संख्यामा आएका आप्रवासीहरू भएको दाबी गरेका थिए।
प्रधानमन्त्री स्टार्मरको कार्यालयले भान्सको यस्तो भनाइले समाजमा विभाजन ल्याउन खोजेको बताएको छ। ज्यान गुमाउने नोवाकको परिवारले पनि आफ्नो छोराको मृत्युलाई घृणा र विवाद फैलाउने काममा प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ।