६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अमेरिकाले १७ महिनामा ४,६०० भन्दा बढी भारतीयलाई देश निकाला गर्‍यो

अमेरिकाले १७ महिनामा ४,६०० भन्दा बढी भारतीयलाई देश निकाला गर्‍यो

न्युयोर्क- अमेरिकाको ट्रम्प प्रशासनले पछिल्लो १७ महिनामा ४ हजार ६ सयभन्दा बढी भारतीय नागरिकलाई स्वदेश फिर्ता (डिपोर्ट) गरेको छ। भारतको परराष्ट्र मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जैसवालले यसको जानकारी दिएका हुन्।

प्रवक्ता जैसवालका अनुसार सन् २०२६ को अहिलेसम्म १ हजार ७६ जना भारतीय नागरिक अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। यसअघि सन् २०२५ मा ३ हजार ५ सय ६७ जनालाई अमेरिकाले फर्काएको थियो।

अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गरेका, भिसाको अवधि सकिएर बसेका वा आवश्यक कागजात नभएका आफ्ना नागरिकलाई पहिचान गरेर फिर्ता लिनु अन्तर्राष्ट्रिय सम्बन्धको सामान्य नियम नै भएको भारत सरकारले बताएको छ। तर, सम्बन्धित व्यक्ति भारतीय नागरिक नै हुन् भन्ने कुरा भारतीय एजेन्सीहरूले थप अनुसन्धान र प्रमाणित गरेपछि मात्र भारतले उनीहरूलाई स्वीकार गर्ने गरेको उनले बताए। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अमेरिकामा आप्रवासनको मुद्दा निकै कडा बन्दै गएको छ।