२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

न्युयोर्कमा नेपाल डे परेडको समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

न्युयोर्कमा नेपाल डे परेडको समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

न्युयोर्क-  नेपाल डे परेड २०२६ आयोजक समितिले परेड सफलतापूर्वक सम्पन्न भएपछि एक समीक्षा तथा सम्मान कार्यक्रम गरेको छ। कार्यक्रममा आयोजक, स्वयंसेवक, समुदायका अगुवा र सहयोगीहरूको सहभागिता थियो।

आयोजक समितिका अध्यक्ष बासु लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, नेपाल डे परेडका कन्भेनर ए पी लामा र आर्थिक संयोजकको पनि उपस्थिति थियो।

कार्यक्रममा नेपाल डे परेड २०२६ को विस्तृत आर्थिक प्रतिवेदन सार्वजनिक गरियो। आर्थिक संयोजक कृष्ण लामिछानेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सम्पूर्ण कार्यक्रम आर्थिक रूपमा बचतसहित सम्पन्न भएको जानकारी गराइयो। यसले आयोजक समितिको पारदर्शी र जिम्मेवार वित्तीय व्यवस्थापनलाई देखाएको छ।

समीक्षामा विभिन्न वक्ताहरूले परेडको सफलताको प्रशंसा गर्दै आयोजनाका क्रममा देखिएका कमजोरी र सुधार गर्नुपर्ने पक्षमा आफ्ना धारणा राखे। उनीहरूले आगामी वर्ष कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र सहभागीमैत्री बनाउन सुझाव दिए।

सुझाव र गुनासा सम्बोधन गर्दै अध्यक्ष बासु लामिछानेले प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको बताए। समितिले आगामी परेडमा यस वर्षका अनुभव र सुझाव आत्मसात् गर्दै आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रमुख अतिथि दधिराम भण्डारीले परेड सफल बनाउन योगदान दिने आयोजक, स्वयंसेवक, प्रायोजक र समुदायका सदस्यलाई धन्यवाद दिए। उनले नेपाल डे परेड नेपाली भाषा, कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम भएको बताए।

कार्यक्रममा परेडलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विभिन्न व्यक्ति, स्वयंसेवक, प्रायोजक र संघसंस्थाहरूलाई सम्मानसमेत गरिएको थियो।

समापन गर्दै सभापति बासु लामिछानेले सम्पूर्ण सहयोगी, सहभागी र शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनले प्राप्त सुझावलाई आधार बनाएर आगामी कार्यक्रम अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाइने विश्वास व्यक्त गरे।

नेपाल डे परेड अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ। यसले हरेक वर्ष हजारौं नेपाली र नेपालप्रेमीलाई एकै ठाउँमा ल्याउने काम गर्दै आएको छ।

– बेगम पण्डित, त्रिवेणी टाइम्स, न्युयोर्क