६ असार २०८३, शनिबार
20 June 2026, Saturday

अमेरिकाले देश निकाला गरेका आप्रवासी सियरा लियोनमा, ज्यानको जोखिम भएका देशमै फर्काइने डर

अमेरिकाले देश निकाला गरेका आप्रवासी सियरा लियोनमा, ज्यानको जोखिम भएका देशमै फर्काइने डर

न्युयोर्क- अमेरिकाले देश निकाला गरेका शरणार्थीहरू सियरा लियोन पुगेका छन्। तर, उनीहरूलाई त्यहाँबाट फेरि आफ्नै देश फर्काइन सक्ने डर बढेको छ। वकिलहरूका अनुसार उनीहरू आफ्नै देश फर्कंदा ज्यानको जोखिम हुन सक्छ। अमेरिकाको अदालतले उनीहरूलाई आफ्नै देश नफर्काउन आदेश दिए पनि तेस्रो देश पठाएर घुमाउरो बाटो प्रयोग गरिएको छ।

बिहीबार करिब एक दर्जन आप्रवासी सियरा लियोनको राजधानी फ्रीटाउन पुगेका छन्। गत महिना पनि ९ जनालाई त्यहाँ पठाइएको थियो। अमेरिकाले सियरा लियोन जस्ता ९ भन्दा बढी अफ्रिकी देशसँग आप्रवासी पठाउने सम्झौता गरेको छ। सियरा लियोन सरकारले यसका लागि अमेरिकासँग १५ लाख डलरको अनुदान सम्झौता गरेको बताएको छ। यो सम्झौताअनुसार महिनामा २५ र वर्षमा ३०० जनालाई त्यहाँ पठाउन मिल्छ।

सियरा लियोन पुगेका आप्रवासीलाई त्यहाँ सधैँ बस्न दिइँदैन। उनीहरूलाई व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीले सियरा लियोनलाई ‘अस्थायी बाटो’ मात्र भनेको छ र छिट्टै सुरक्षित रूपमा आफ्नै देश फर्काउने जानकारी दिएको छ। एकजना आप्रवासीको वकिल एरिका रेइलीले अदालतको आदेश हुँदाहुँदै पनि उनीहरूलाई जोखिममा पारिएको बताइन्। अमेरिकाले आप्रवासीलाई देश निकाला गरेपछि उनीहरूको अवस्थाबारे कुनै चासो नदिएको उनले गुनासो गरिन्।