दक्षिण अफ्रिकाबाट फर्किएका नाइजेरियालीलाई स्वदेशमै आर्थिक संकट
- ०६ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- दक्षिण अफ्रिकामा आप्रवासीविरुद्ध हिंसा बढ्न थालेपछि सयौँ नाइजेरियाली नागरिक स्वदेश फर्किएका छन्। तर, उनीहरूले आफ्नै देशमा झन् ठूलो आर्थिक संकटको सामना गर्नु परिरहेको छ। गत मे महिनामा आक्रमणमा परेर घाइते भएका ५२ वर्षीय इनिबोङ जेम्स १० वर्षपछि नाइजेरियाको लागोस फर्किएका छन्।
सन् २०१६ मा नाइजेरियामा बेरोजगारी र बिजुली कटौतीको समस्या बढेपछि उनी दक्षिण अफ्रिका गएका थिए। तर अहिले स्वदेश फर्किँदा यहाँको महँगी र आर्थिक अवस्था पहिलेभन्दा धेरै खराब भएको उनले बताए। जेम्सले कामको खोजीमा भए पनि रोजगारी पाउन गाह्रो रहेको सुनाए।
११ वर्षअघि दक्षिण अफ्रिका गएकी ओमोतोला एडेनिइ पनि विदेशी भएकै कारण काम नपाएपछि स्वदेश फर्किएकी छन्। नाइजेरिया, घाना र मलावीलगायत देशले आफ्ना सयौँ नागरिकलाई त्यहाँबाट फिर्ता ल्याएका छन्। यस विषयमा नाइजेरिया र घानाले दक्षिण अफ्रिकाका कूटनीतिज्ञलाई बोलाएर कडा असन्तुष्टि जनाएका छन्।
विदेशी नागरिकमाथि आक्रमण भइरहे पनि राम्रो अर्थतन्त्र र विकासका कारण अझै पनि धेरै अफ्रिकी नागरिक कामको खोजीमा दक्षिण अफ्रिका जाने गरेका छन्।