१० असार २०८३, बुधबार
24 June 2026, Wednesday

अमेरिकी कूटनीतिज्ञ हत्या प्रकरणमा थाई महिलामाथि म्यानमार अदालतमा सुनुवाइ सुरु

अमेरिकी कूटनीतिज्ञ हत्या प्रकरणमा थाई महिलामाथि म्यानमार अदालतमा सुनुवाइ सुरु

न्युयोर्क- म्यानमारको एक अदालतमा मंगलबार एक थाई महिलाविरुद्ध अध्यागमन कानुन उल्लंघनको आरोपमा सुनुवाइ सुरु भएको छ। ती महिलामाथि आफ्ना पूर्वपति तथा एक अमेरिकी कूटनीतिज्ञको हत्या गरेको अभियोग समेत लागेको छ।

कामायुट टाउनसिप अदालतमा भएको दोस्रो सुनुवाइका क्रममा अध्यागमन अधिकारीसहित तीन जना सरकारी साक्षीहरूले गवाही दिएका छन्। आरोपित पाविनी सुपासिरिविसानमाथि गत मे महिनामा अमेरिकी कूटनीतिज्ञको हत्या गरेको आरोप छ। म्यानमारको कानुनअनुसार त्यहाँ अपराध गर्ने जुनसुकै विदेशी नागरिकमाथि सुरुमा अध्यागमन ऐन अन्तर्गत मुद्दा चलाइने प्रावधान छ।

अध्यागमन मुद्दामा दोषी ठहरिए उनलाई ६ महिनादेखि ५ वर्षसम्मको जेल सजाय हुन सक्छ। यो मुद्दा सकिएपछि मात्रै उनीमाथि हत्याको अभियोगमा सुनुवाइ हुनेछ, जसमा १० वर्षदेखि मृत्युदण्डसम्मको सजाय हुन सक्छ। म्यानमारको सैन्य सरकार, प्रहरी र अदालतले यस विषयमा औपचारिक रूपमा केही बोल्न अस्वीकार गरेका छन् भने पत्रकारहरूलाई अदालतमा प्रवेश दिइएको छैन। थाई परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकलाई कूटनीतिक सहयोग उपलब्ध गराएको पुष्टि गरे पनि थप विवरण दिएको छैन।

गएको मे ११ तारिखमा अमेरिकी दूतावास नजिकै रहेको ‘साकुरा रेजिडेन्स एन्ड होटल’ मा ती कूटनीतिज्ञको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको थियो। अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञको मृत्यु भएको पुष्टि गरे पनि सुरक्षा र गोपनीयताका कारण उनको नाम र थप विवरण सार्वजनिक गरेको छैन।