अमेरिकामा आप्रवासी थुन्न किनिएका गोदामहरू सरकारले फिर्ता गर्ने
- ११ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीसीई) ले आप्रवासीहरूलाई थुन्नका लागि विशाल गोदामहरू प्रयोग गर्ने आफ्नो योजनाबाट पछि हट्ने निर्णय गरेको छ। पूर्व गृह सुरक्षा सचिव क्रिस्टी नोएमको ३८ अर्ब डलरको थुनामा राख्ने क्षमता विस्तार गर्ने योजनाअन्तर्गत एउटै ठाउँमा १० हजार मानिस राख्न ११ वटा गोदामहरू किनिएका थिए। सरकारले तीमध्ये ७ वटा गोदामहरू अन्य सरकारी निकायलाई हस्तान्तरण गर्ने वा बिक्री गर्ने तयारी गरेको छ।
गोदाम खरिद योजनाको सुरुदेखि नै व्यापक विरोध भएको थियो। स्थानीय समुदायहरूलाई पूर्वजानकारी नदिई गोप्य रूपमा गोदामहरू खरिद गरिएको भन्दै सातवटा संघीय मुद्दा दायर गरिएका थिए। साथै, अत्यधिक महँगो मूल्यमा गोदाम किनिएपछि आन्तरिक लेखापरीक्षणसमेत सुरु भएको छ। नोएमको बहिर्गमनपछि नयाँ सचिव बनेका मार्कवेन मुलिनले गोदाम खरिद प्रक्रियामा रोक लगाएका हुन्।
विशाल गोदामहरूमा खानेपानी र ढलको उचित व्यवस्था नहुँदा स्थानीय प्रशासनहरूले आपत्ति जनाएका थिए। सल्ट लेक सिटीमा १४ करोड ५४ लाख डलरमा किनिएको गोदाममा पानी आपूर्ति र ढल व्यवस्थापनका लागि ट्याङ्कर प्रयोग गर्नुपर्ने अवस्था आएपछि विवाद बढेको थियो। जर्जिया, मिसिगन र टेक्सासका गोदामहरू पनि अब आप्रवासी थुन्न प्रयोग नगरिने वा तिनीहरूको स्वरूप परिवर्तन गरिने अधिकारीहरूले बताएका छन्।