१२ असार २०८३, शुक्रबार
26 June 2026, Friday

अमेरिकी अदालतहरूमा आप्रवासीलाई पक्राउ गर्न नपाइने

अमेरिकी अदालतहरूमा आप्रवासीलाई पक्राउ गर्न नपाइने

न्युयोर्क- अमेरिकाको एक अदालतले आप्रवासन अदालतहरूमा आप्रवासीहरूलाई पक्राउ गर्न संघीय सरकारमाथि प्रतिबन्ध लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै सुरु भएको यो पक्राउ गर्ने अभ्यासमाथि अदालतले रोक लगाएको हो। सन फ्रान्सिस्कोका जिल्ला न्यायाधीश केसी पिट्सले सरकारले बिनाकुनै सोचविचार यो नीति लागू गरेको भन्दै यसलाई देशव्यापी रूपमा बदर गरिदिएका छन्।

न्यायाधीश पिट्सका अनुसार अदालतभित्रै पक्राउ गरिने डरले मानिसहरू मुद्दाको सुनुवाइमा आउनै डराउने गम्भीर असरबारे प्रशासनले कुनै विचार गरेको थिएन। यसअघि गत मे महिनामा न्युयोर्कको एक अदालतले पनि आफ्नो राज्यमा यस्तै रोक लगाएको थियो, तर नयाँ फैसलाले यो नियमलाई अब देशभरि नै लागू गरिदिएको छ। यसलाई ट्रम्प प्रशासनका लागि ठूलो नीतिगत झट्का मानिएको छ।

यसैबीच, अमेरिकी गृह सुरक्षा विभागका मुख्य कानुनी सल्लाहकार जेम्स पर्सिभलले यस फैसलाको कडा आलोचना गरेका छन्। उनले न्यायाधीशको यो आदेशलाई ‘अदालती अतिवाद’ को संज्ञा दिँदै यसले खुला सिमानाको एजेन्डालाई मात्र सहयोग पुऱ्याउने टिप्पणी गरे। ट्रम्प प्रशासन आएपछि सादा पोसाकका एजेन्टहरूले अदालतका गल्लीहरूबाटै आप्रवासीहरूलाई पक्राउ गर्ने गरेका थिए।