जन्मसिद्ध नागरिकता विवाद: ट्रम्पको दाबी र मेक्सिकोको यथार्थ
- ११ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका मात्र यस्तो देश हो जहाँ जन्मसिद्ध नागरिकता दिइन्छ भनेर दाबी गर्दै आएका छन्। उनले अवैधानिक रूपमा बसेका आप्रवासीका छोराछोरीलाई यो अधिकार नदिने कडा नियम ल्याएका छन्। ट्रम्पले सन् २०२५ जनवरी २० मा आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए। अब यस विषयमा अमेरिकी सर्वोच्च अदालतले छिट्टै फैसला गर्दैछ।
तर, ट्रम्पको दाबी सत्य भने होइन। अमेरिकाबाहेक क्यानडा, मेक्सिको, ब्राजिललगायत करिब ३६ वटा देशले आफ्नो भूमिमा जन्मिएका बालबालिकालाई स्वतः नागरिकता दिने गर्छन्।
यसको एउटा गतिलो उदाहरण मेक्सिकोको तिजुआनामा बस्ने हाइटीकी आप्रवासी भिभियनको कथा हो। अमेरिका जाने सपना बोकेर सन् २०१९ मा हाइटी छोडेकी उनी अन्ततः मेक्सिकोमै रोकिइन्। अहिले उनी त्यहाँ आफ्नै रेस्टुरेन्ट चलाउँछिन्। दुई वर्षअघि उनकी नातिनी एलेक्सा मेक्सिकोमा जन्मिइन् र नियमअनुसार स्वतः मेक्सिकोको नागरिकता पाइन्।
नातिनीले नागरिकता पाएपछि भिभियनको परिवारलाई मेक्सिकोमा स्थायी रूपमा बस्ने बाटो खुल्यो। मेक्सिकोले जन्मसिद्ध नागरिकता पाएका बालबालिकाका अभिभावकलाई स्थायी बसोबासको अनुमति दिन्छ। भिभियनले नातिनीले मेक्सिकोको नागरिकता पाएकोमा खुसी व्यक्त गरिन्। आप्रवासीका बालबालिकाले अवसर पाए भने विश्वमै उत्कृष्ट काम गर्न सक्ने उनले बताइन्। जन्मसिद्ध नागरिकता रोक्ने प्रयास केवल डाहा मात्र भएको उनको भनाइ छ।