१६ असार २०८३, मङ्लबार
30 June 2026, Tuesday

दक्षिण अफ्रिकामा अवैध आप्रवासीविरुद्ध विशाल प्रदर्शन, सुरक्षा व्यवस्था कडा

दक्षिण अफ्रिकामा अवैध आप्रवासीविरुद्ध विशाल प्रदर्शन, सुरक्षा व्यवस्था कडा

न्युयोर्क- दक्षिण अफ्रिकामा अवैध आप्रवासीको विरोधमा हजारौं मानिसले सडक प्रदर्शन गरेका छन्। सन् २००८ पछि यो नै सबैभन्दा ठूलो आप्रवासी विरोधी प्रदर्शन हो। आन्दोलनकारीले देशमा रहेका सबै अवैध आप्रवासीलाई जुन ३० भित्र दक्षिण अफ्रिका छाड्न चेतावनी दिएका थिए। थोरै तलबमा काम गरेर आप्रवासीले स्थानीयको रोजगारी खोसेको र देशमा अपराध बढाएको उनीहरूको आरोप छ।

दक्षिण अफ्रिकाको सरकारले भने यो चेतावनीलाई अस्वीकार गरेको छ। अध्यागमन कानुन लागु गर्ने अधिकार सरकारी निकायलाई मात्र भएको सरकारले प्रस्ट पारेको छ। राष्ट्रपति सिरिल रामाफोसाले आन्दोलनरत समूहका नेताहरूसँग भेटेर शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेका छन्। आन्दोलनका एक नेता न्गिज्वे मचुनुले देशमा अवैध लागूऔषध फैलिनुमा आप्रवासीलाई दोष दिए। उनले साना पसलहरू पनि विदेशीले नभई स्थानीय नागरिकले नै चलाउनुपर्ने बताए।

हिंसा भड्किन नदिन जोहानेसबर्ग र डरबन लगायतका सहरमा सयौं प्रहरी खटाइएको छ। सडकमा निस्किएका प्रदर्शनकारीले आफूहरू विदेशी विरोधी नभएको, तर देशको समस्या समाधान गर्न आप्रवासीहरू फर्किनुपर्ने बताएका छन्। उनीहरूले संयुक्त राष्ट्रसंघको शरणार्थी महासन्धिबाट दक्षिण अफ्रिका बाहिरिनुपर्ने माग समेत गरेका छन्। प्रदर्शनको डरले विदेशी नागरिकले चलाएका पसलहरू बन्द गरिएका छन्।

आन्दोलन चर्किंदै गएपछि जिम्बाब्वे, मलावी र नाइजेरिया लगायत देशका हजारौं आप्रवासी आफ्नो देश फर्किन थालेका छन्। उनीहरू ज्यानको सुरक्षा नभएको भन्दै स्वदेश फर्किने व्यवस्था मिलाइदिन आ–आफ्ना दूतावासमा पुगेका छन्। सीमा नाकाहरूमा स्वदेश फर्किनेहरूको ठूलो भिड लागेको छ।